काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशभरिका रुग्ण आयोजनाका निर्माण व्यवसायीहरूलाई मन्त्रालयमै बोलाएर आयोजना सम्पन्न गर्ने समयसीमा र गुणस्तरबारे गम्भीर चासो लिएका छन्। सोमबार मन्त्रालयमा व्यवसायीहरूसँग भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले तोकिएको समयमै र गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन्।
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालय अन्तर्गतका कतिपय खण्डहरू व्यवसायीहरूकै कारण रुग्ण आयोजनामा परेका छन्।
छलफलमा निर्माण व्यवसायीहरूले समयमै र गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् । छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, निवर्तमान महानिर्देशक अर्जुनजंग थापा तथा हुलाकी सडक निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग निर्देशनालयका प्रमुखहरू समेत सहभागी थिए ।
छलफलमा मातहतका निकायबाट देशैभरिका रुग्ण आयोजनाको अवस्थाबारे जानकारी लिंदै उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीलाई ती आयोजना रुग्ण बन्नुको कारणबारे प्रश्न गरे । आफ्ना समस्या पनि खुलेर राख्न सुझाव दिँदै उनले भने, ‘‘रुग्ण परियोजना कहिलेसम्म सम्पन्न हुन्छ ? काम ओगटेर बसेकाले काम नभएको हो कि मन्त्रालयले सहजीकरण नगरेर वा भुक्तानी र कर्मचारीको समस्याले?’’ उनले भने, ‘सकारात्मक दृष्टिकोणका साथ यी समस्या समाधान गर्ने र चाँडो परिणाम ल्याऔं भन्ने आफ्नो ध्येय रहेको पनि उपप्रधानमन्त्री श्रेष्ठले स्पष्ट पारे।
त्यसक्रममा निर्माण व्यवसायीले विविध समस्या देखाउँदै अब भने निर्धारित समय र गुणस्तरमै काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । हरेक १५–१५ दिनमा निर्देशनालय प्रमुखबाट रुग्ण आयोजनाको प्रगति विवरण लिइने उपप्रधानमन्त्री श्रेष्ठले बताए।