काठमाडौं। रुग्ण आयोजनाले अब हरेक १५ दिनमा प्रगति विवरण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउनुपर्ने भएको छ। सोमबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाका निर्माण व्यवसायीहरुसँग छलफल गरी अब हरेक १५/१५ दिनमा प्रगति विवरण बुझाउन निर्देशन दिएका हुन्।
छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार निर्धारित समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह समेत गरेका छन्।
उनले विकासको लक्ष्य हासिल गर्न राज्य र निर्माण व्यवसायीबीचको मिलेमतोमा नभई मिलेर काम गर्नुपर्ने बताए। धेरै आयोजनाको अवस्था राम्रो नहुँदा मन्त्रालय र निर्माण उद्योगको पनि प्रतिष्ठामा असर परेको बताउँदै उनले प्रतिष्ठा बचाउने गरी काम गर्न निर्माण व्यवसायीको ध्यानाकर्षण गराए।
उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग मुलुकभरिकै रुग्ण आयोजनाको अवस्था माग गर्नुका साथै रुग्ण बन्नुका कारणबारे जिज्ञासा राखेका थिए । सोही सम्बन्धमा अब हरेक १५(१५ दिनमा सम्बन्धित आयोजना प्रमुखले रुग्ण आयोजनाको प्रगति विवरण मन्त्रालयलाई बुझाउनुपर्ने समेत उनले बताएका हुन्। छलफलमा हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत मोहनाखोला, डोकेबजार बेलौरी, धाइजी, कञ्चनपुर सडक मार्गको जिम्मा पाएको शर्मा÷राजेन्द्र (संयुक्त)ले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता गरेको बताइएको छ।
यसैगरी, धाँधरखोला पुल र पतरीखोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनभित्र कामलाई गति दिने नत्र ठेक्का तोडिने सहमति भएको छ। हुलाकी राजमार्गअन्तर्गत नै गोपीगञ्ज, नारायणचोक, परासीचोक सडकखण्ड निर्माण जिम्मा पाएको कञ्चनजङ्घा÷बिरुवा÷शिवशक्ति (संयुक्त)ले २५ दिनमा काम सक्ने प्रतिबद्धता गरेको छ । त्यसैगरी कमला नदी पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने प्रतिबद्धता गरेको बताइएको छ।
सडक सुधार तथा विकास आयोजनाअन्तर्गत रुग्ण रहेका भेडेटार–राँके सडक निर्माण जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालू आर्थिक वर्ष २०७९/८० मा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ।