बागलुङ। मध्यपहाडी लोकमार्गको दायाँबायाँ मापदण्ड २५ मिटर छ । मापदण्ड मिचेर कुनै पनि संरचना बनाउन पाइँदैन । मापदण्ड कायम हुनुअघिका संरचनासमेत हटाउने तयारी हुँदै गर्दा बागलुङको विभिन्न स्थानमा भने सडक अतिक्रमण बढेको छ ।
कालोपत्र भइसकेको सडक खनेर पाइपलाइन गाडिएको छ । नाली बनाउने ठाउँसमेत नराखी पाइपलाइन बिछ्याइएको हो । मनेवा दरमखोला हाइड्रो इजर्नी लिमिटेडले सडक नै मिचेर पाइपलाइन बिछ्याएको हो । कालोपत्र सडक मात्रै ८ देखि ९ मिटर हुनुपर्नेमा सडक ५ देखि ६ मिटर पनि नछाडी पाइपलाइन बिछ्याउँदा दोहोरो सवारी गुड्नसमेत समस्या भएको हो । सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् । आयोजनाले सडकको अनुमति लिएर काम गरेको दाबी गरेको छ । ‘हामीले सडकको अनुमति लिएर पाइपलाइन बिछ्याएका हौं, मापदण्ड पालना गरेका छौं’ आयोजना सञ्चालक नीरज पुनले भने, ‘काम सकिएपछि सडकको मापदण्ड पुगेको देखिनेछ ।’
लोकमार्ग आयोजना कार्यालय प्रमुख नारायणदत्त भण्डारीले भने मापदण्ड मिचिएको बताउँदै जलविद्युत् आयोजनालाई उक्त काम रोक्न पत्राचार गरिएको बताए । ‘आयोजनालाई पत्राचार गरी विभागमा बोधार्थ पठाएका छौं’ भण्डारीले भने, ‘अनुमति लिएर काम गरे पनि सडकलाई अप्ठ्यारो पार्न पाइँदैन ।’ केही खण्डमा भने पाइपलाइन सारिएको उनले बताए । सडक भत्केरबिग्रेको उस्तै बनाइदिनुपर्ने र सडकको सुरक्षा गर्नुपर्ने सर्तमा अनुमति दिइएको एक कर्मचारीले बताए । ‘सवारीसाधन गुड्ने दोहोरो सडक, नालीबाहेकको खण्डमा मात्रै पाइपलाइन बिछ्याउन पाइने भने पनि उहाँहरूले नजिकै ल्याएर जोखिम बनाउनुभएको हो’ ती कर्मचारीले भने, ‘हाम्रो कुराको सुनुवाइ भएको छैन ।’ जिल्ला समन्वय प्रमुख अमर थापाले मापदण्डविपरीत काम भएकाले तत्काल रोक्नुपर्ने बताए । ‘यो विषयमा प्रशासनले पनि चासो दिनुपर्छ’ उनले भने, ‘लोकमार्ग नै अवरोध हुने काम गर्न मिल्दैन ।’
सडकको छेउतर्फ दरमखोला पर्छ । पहाड काटेर खोलिएको सडकको ट्र्याकमै पाइपलाइन बिछ्याएपछि सडक साँघुरो भएको हो । चार वर्षअघि यो खण्डमै ठूलो पहिरो गएर दरमखोलासमेत थुनिएको थियो । सडक खुलाउन पनि एक महिनाभन्दा बढी लागेको थियो । सोही स्थानमा पाइपलाइन बिछ्याइएको हो । पाइपलाइन पनि सडक सतहभन्दा अग्लो छ । ‘पाइपलाइनको पानी फुट्यो भने पनि सडक बिग्रन्छ,’ स्थानीय बिन्दु शाहीले भनिन्, ‘सडकका कारण खसेको पहिरो रोकिएको छैन, त्यसमाथि पाइपलाइनले अर्को जोखिम ल्याउने डर छ ।’
लोकमार्गको १ सय ४२ किमि खण्ड बागलुङमा पर्छ । सदरमुकाम बागलुङ बजारदेखि काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका यो मार्गमा पर्छन् । ती सबै पालिकाभित्र कुनै न कुनै रूपमा लोकमार्ग अतिक्रमणमा परेको छ । पुराना बजारमा साँघुरो छ । दोहोरो गाडी पनि चल्न नसक्ने ती बजार बढाउने विषयमा जनप्रतिनिधिको चासो छैन । ‘मापदण्ड मिचेर केही घर बनेको देखियो, तर बनिसकेका घर भत्काउनेभन्दा विकल्प कसरी दिने भन्नेमा छौं,’ काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले भने, ‘हामीले घर बनाउने अनुमति भने दिएका छैनौं ।’
विशेषगरी नगरपालिकामा सामान्य मापदण्ड भए पनि गाउँपालिकमा भवन निर्माण आचारसंहितासमेत लागू भएको छैन । त्यसैले लोकमार्गमा जोडेर घर बनिरहेको आयोजना प्रमुख भण्डारीले बताए । ‘लोकमार्गको मापदण्ड भए पनि स्थानीय पालिका सचेत नभएमा घर र अन्य संरचना बनेर अप्ठ्यारो पर्छ,’ भण्डारीले भने, ‘बनिसकेका घर भत्काउनुपर्दा मुआब्जा दिन पनि सकिँदैन ।’ लोकमार्गले सडक आफ्नो नाउँमा लिने बेलाका घरटहरा भत्काउने क्रममा भने सरकारी दररेटअनुसार आयोजनाले मुआब्जा दिने व्यवस्था छ ।
काठेखोलाको अक्षेते, पोखरा, रिजालचोक र घोडाबाँधे, गलकोटको हटिया, बास्खोला र गल्याङ बजारमा पनि मापदण्डविपरीत घर बनेका छन् । त्यस्तै बडिगाडको भीमगिठे, खरबाङ बजार तथा ढोरपाटन नगरपालिकाको सिमलचौरमा सडकमै घर जोडिएका छन् । पछिल्लो समय लोकमार्गको यो खण्डमा पूर्वी तथा पश्चिम रुकुम र सल्यानका सवारी चल्न थालेका छन् । रात्रि तथा दिवा सेवाका बस, मालवाहक सवारीसाधनसमेत चल्दा सडकको चाप बढेको छ । ‘दैनिक सयौं सवारी चल्न थालेका छन् तर सडक धेरै साँघुरो भएकाले विद्यार्थीलाई जोगाउनै हम्मे भएको छ’ बडिगाड–२ स्थित त्रिभुवन माविका प्रअ ढालमणि भण्डारीले भने, ‘सडक कटाएर घर पठाउने काममा दैनिक शिक्षकको पालो राख्नुपरेको छ ।’ निसीखोलामा सडक बनिसकेपछि बनाइएका निजी घरले पनि मापदण्ड छाडेका छैनन् । निसीको भलकोटमा सडकमै जोडेर बनेका घरले दोहोरो सवारी गुड्नै अप्ठ्यारो भएको चालकले बताए । कान्तिपुरबाट