काठमाडौं। २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्धघाटन गरेका थिए। त्यसपश्चात सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको काम भौतिकतर्फ अझै करिब ४३ प्रतिशत बाँकी नै छ। उद्घाटनका बेलासम्म आयोजनाबाट १ अर्ब ६४ करोड लिइसकेको निर्माण कम्पनी रमण कन्सट्रक्सनले ६ महीनामा मुस्किलले १० करोड रुपैयाँ थप बुझेको छ।
प्राधिकरणका एक प्राविधिकका अनुसार उद्धघाटनसम्म ५४ प्रतिशत रहेको वित्तीय प्रगति हाल ५६ प्रतिशत मात्रै पुगेको छ। वित्तीय विवरणको प्रगतिका आधारमा ६ महिनामा आयोजनामा साढे २ प्रतिशत मात्रै काम भएको छ।प्राधिकरणका प्रवक्ता मनोहर घिमिरे उद्धघाटनपछि धरहराको निर्माण सुस्ताएको स्वीकारेका छन्। आयोजनाका अधिकारीहरुका अनुसार हाल धरहराको निर्माणस्थलमा खटिने श्रमिकको संख्या निकै कम छ। उद्धघाटनअघि रातभर काम भएको स्मरण गर्दै उनीहरुले उद्धघाटनपछि ठेकदारले निर्देशन नै मान्न छोडेको बताएका छन्।
उद्धघाटनअघि करिब ३ महिना रातभर सयौं श्रमिकले काम गर्दा ‘टावर’ छिटो ठडिएको ती थियो। तर, पत्र काट्दा पनि अनेक बाहना बनाएर ठेकदारले पुरानै शैलीमा काम गर्न थालेको प्राधिकरणको निष्कर्ष रहेको छ। धरहराको निर्माण अवधिको म्याद यही मंसिर महिनामा सकिँदैछ। सरकारले महामारीको कारण देखाएर प्रभावित परियोजनालाई थप ६ महिना समय दिने भनेकाले जेठसम्म परियोजनाको सबै काम सकिनुपर्छ। तर, प्राधिकरणका अधिकारीहरुले भने उद्धघाटनअघिकै गतिमा काम भएपनि एक वर्षअघि धरहरा बनिनसक्ने बताएका छन्।
काम नसकिंदै हतार–हतार लिफ्ट जोडेर उद्धघाटन गरिएको धरहराको भर्याङ नै बनिसकेको छैन। साथै रंगरोगन, लाइटिङ र सूचना प्रविधिसम्बन्धी काम गर्न बाँकी नै छ। धरहराको टावरमुनि बनिरहेको तीन तले भूमिगत पार्किङको काम पनि सकिएको छैन। त्यस्तैसंग्रहालय निर्माणको काम पनि बाँकी नै छ। प्रशासनिक भवन र खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक निर्माण गर्न पनि बाँकी नै छ। त्यस्तै बीचमा पुल बनाउने काम पनि शुरु भएको साथै बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै रहेको र भूकम्पमा भत्किएको पुरानो धरहराको बाँकी भागलाई सिसाभित्र राख्नेसहित सजावटका विविध कार्यहरु गर्नै बाँकी छ। तर पनि आधा काम नसकिदै धरहराको उद्धघाटन गरिएको थियो।
साइटमा श्रमिक नै खटाउन र मेसिन नै चलाउन छाडिएपछि सर्वसाधारणले कहिलेबाट धरहरा चढ्न पाउँछन् भन्ने एकिनका साथ भन्न नसकिने प्राधिकरणले जानकारी गराएको छ। कुनै पनि काम निर्माण सम्पन्न गरेर ठेकदारले हस्तान्तरण गरिसकेपछि मात्रै उद्धघाटन गर्ने प्रचलन विपरीत तत्कालीन प्रधानमन्त्री ओलीले हतारहतार धरहराको उद्धघाटन गरेका थिए।
अब पुस ९ गतेबाट विघटन हुन लागेको प्राधिकरणले यस धरहरा पुनर्निर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई दिने तयारी गरेको छ। विभागले तयार गरेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाइने भएको छ। तर, अहिलेकै गतिमा काम भए धरहराको काम सकिन अझै कम्तिमा साढे दुईदेखि तीन वर्ष लाग्नसक्ने प्राधिकरणकै अधिकारीहरुले बताएका छन्।