काठमाडौं। चक्रपथको कलंकी–महाराजगन्ज खण्डको सहायक सडक निर्माणको काम सुरु भएको छ। चक्रपथ सुधार आयोजनाअन्तर्गत सरकारले चक्रपथको सहायक सडक निर्माण गर्न सुरु गरेको हो।
यसका लागि सरकारले ४ वटा निर्माण व्यवसायीमार्फत काम गराइरहेकाे छ। चक्रपथको कलंकी–महाराजगन्ज खण्ड विस्तारका लागि सहायक सडक निर्माण र अवरोध हटाउन नेपाल सरकार र चीनबीच सहमति भएअनुसार नेपालको तर्फबाट सहायक सडक निर्माण गर्न सुरु भएको हो।
अहिले दुई वर्षभित्रै सक्ने स्टिमेटका साथ निर्माण कार्य अघि बढिरहेको छ। उक्त खण्डको सहायक लेन निर्माणसहित ढल, बाहिरी वाल निर्माणका लागि यस वर्ष १ अर्ब बजेट विनियोजन भएको छ । सहायक सडक निर्माणका लागि आसपासका संरचना भत्काउने काम भने यसअघि नै भइसकेको छ।
यता चिनियाँ पक्षले भने मुख्य सडक निर्माणको काम थालेको छैन । यस खण्डमा चीन सरकारले मुख्य सडक र चारवटा अकाशे पुल बनाउनेछ । त्यसबाहेकका पाँचवटा अकाशे पुल नेपाल सरकारले बनाउनेछ ।
साइड क्लियर नभएसम्म काम सुरु नगर्ने चिनियाँ पक्षको अडान छ। कलंकी–महाराजगन्ज खण्डमा रहेका अन्य अवरोध हटेपनि मन्दिर, रूख र बिजुलीका पोल बाँकी छन्। ती संरचना पनि नहटाएसम्म चक्रपथ विस्तारको दोस्रो चरण सुरु नगर्ने चिनियाँ पक्षको अडान छ । जति छिटो साइट क्लियर भयो, त्यति नै छिटो अन्तिम सम्झौता गरेर काम सुरु गर्ने भने पनि पूर्ण रुपमा साइड क्लियर नभएकै कारण चिनियाँ टोलीले काम सुरु गर्न आनाकानी गरिरहेको छ।
चक्रपथ खण्डमा पर्ने एउटा मन्दिर र महाराजगन्जमा २० वटा घर हटाएर साइट खाली गर्न बाँकी छ । चिनियाँ पक्षले यस खण्डका थप केही रुख र विजुलीका पोल हटाउन पनि भनिरहेको छ। मन्दिर र घर हटाउने विषयमा स्थानीयसँग कुरा नमिलेपछि ढिलाइ भइरहेको आयोजनाले जनाएको छ।
बिहीबार बिहान उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन् सङलगायतको टोलिले याे सडकखण्डकाे निरीक्षण गरेका छन्। निरीक्षणमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, मन्त्रालयका सचिव केशव शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल समेतकाे सहभागिता थियाे। उक्त टाेलीले यस सडकखण्डको विस्तार कार्य छिटो गर्न पहल समेत गरेकाे छ। साथै निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले यस खण्डकाे विस्तार कार्य अब चाँडै सुरू हुने आश्वासन समेत दिएका छन्।