काठमाडौं। उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन् सङलगायतको टोलिले कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण गरेका छन्।
बिहीबार (आज) बिहान कलंकीको मकालु पेट्रोल पम्पमा भेला भइ उक्त टोली कलंकी–चक्रपथ सडकखण्ड निरीक्षणका लागि निस्किएको हो।
निरीक्षणमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, मन्त्रालयका सचिव केशव शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको टोलीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ।
चिनियाँ सहयोगमा हुन लागेको कलंकी–चक्रपथ दोस्रो खण्डको विस्तार कार्य सुरु हुनुअघि स्थलगत निरीक्षण गरिएको छ। साइड क्लियर नभएका कारण यस खण्डको विस्तार कार्यमा चिनियाँ पक्षले काम सुरु गरेको छैन।
निरीक्षणका क्रममा यस सडकखण्डको विस्तार कार्य छिटो गर्न मन्त्री श्रेष्ठसहितले पहल गरेका छन्। निरीक्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने बताए।
निरीक्षणपछि मन्त्री श्रेष्ठले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै सुरु हुने र यसमा चीन सरकार सहमत भइसकेको जानकारी दिएका हुन् ।
उनले सो सडकखण्डमा पर्ने स्वयम्भूका संरचनाहरु नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको जानकारी दिए । तर, बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु भने सारिने उनले बताए ।