तनहुँ। पृथ्वी राजमार्गको विकल्पका रुपमा लिइएको बुद्धसिंह मार्ग ट्र्याक खनेको ३१ वर्षपछि बल्ल स्तरोन्नतिको चरणमा छ । पोखराबाट पृथ्वीराजमार्ग हुँदै चितवन जोडिने छोटो मार्गको रूपमा यसलाई लिइन्छ ।
दमौली बसपार्कदेखि सुडेपुलसम्मको १० किलोमिटर सडकखण्ड कालोपत्र गर्ने गरी ठेक्का लागे पनि कामले गति लिन सकेको छैन । गत भदौ २७ मा ठेक्का सम्झौता भए पनि कछुवाको गतिमा काम भइरहेको बुद्धसिंह मार्ग उपभोक्ता समितिका संस्थापक अध्यक्ष यामबहादुर आलेले बताए ।
जनस्तरमा बेलबासबाट सुडेसम्म करिव ९ किलोमिटर सडक बनाइएको थियो । २०५९ मा यस मार्गमा पहिलोपल्ट जिप चलेको आले सम्झन्छन् । उनले भने, ‘अहिले ३४ किलोमिटर दूरीको मोटरमार्ग बनेको छ । सडक खनेको यति लामो समय बितिसक्दा पनि स्तरोन्नति नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।’
पोखरा–डुम्रे–आँवुखैरेनी–मुग्लिङ हुँदै नारायणगढ जानुभन्दा दमौलीबाट बुद्धसिंह मार्ग हुँदै नारायणगढ पुग्न करिब २४ किलोमिटर दूरी छोटो पर्छ ।
तर बुद्धसिंह मार्गलाई मुग्लिङ–नारायणगढ जोड्न घुमाउने घाटमा पक्की पुल निर्माण कार्य पूरा हुन सकेको छैन । करिव १५ वर्षदेखि पुल निर्माणका विषयमा चर्चा चलेता पनि अझै काम पूरा हुन सकेको छैन । घुमाउनेको पुलसँगै ढाँडखोला, बखरखोला र भूतखोलामा गरी अन्य ३ वटा खोलामा ठूला पुल निर्माण गर्नुपर्ने हुन्छ ।
पुल निर्माणका लागि डीपीआर तयार गरिए पनि निर्माण प्रक्रियामा भने गएका छैनन् । गण्डकी प्रदेशलाई चितवन नारायणगढसँग जोड्ने सबैभन्दा छोटो दूरी र पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा समेत लिइने बुद्धसिंह मार्गको स्तरोन्नतिमा सरोकारवाला निकायले ध्यान नदीँदा धेरै सास्ती खेप्नुपरेको व्यास–१४ मास्दिघाटकी दिलिसरा आले बताउँछिन् । ‘यो बाटोको समयमै स्तरोन्नति भए चितवन हुँदै अन्यत्र जाने यात्रुले जाम, धूलो, हिलो हुँदै जोखिमपूर्ण यात्रा गर्नु पर्दैनथ्यो,’ उनले भनिन्, ‘सडकको स्तरोन्नति नहुँदा यात्रुले मात्रै होइन हामीहरूले पनि वर्षायममा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नुपरेको छ ।’
झापा, धरान, बुटवल, भैरहवालगायत तराईदेखि पोखरा, पर्वत, बागलुङ, स्याङ्जा, म्याग्दीलगायत जिल्ला पुग्न २४ किलोमिटर छोटो दूरी पर्ने यस वैकल्पिक मार्ग अझै पनि प्राथमिकतामा नपर्नु दुःखको कुरा रहेको आलले बताइन् । सदरमुकाम दमौलीबाट घुमाउने घाटसम्मको सडक सेती नदीको किनारै किनार खनिएको छ ।
हिउँदमा मुस्किलले आधा दर्जन यात्रु बाहक सवारीसाधन चल्छन् । तर, गन्तव्यमा नपुगिन्जेलसम्म यात्रा त्रासपूर्ण हुने स्थानीय बताउँछन् । सडकको स्तरोन्नति र पहिरो रोकथामको काम नहुँदा वर्षायाम सुरु भएसँगै यस क्षेत्रमा पहिरोको जोखिम छ ।
यस मार्गमा व्यास नगरपालिका, बन्दीपुर, आँबुखैरेनी, देवघार र ऋषिङ गाउँपालिका गरी ५ पालिका जोडिएका छन् । उक्त सडकखण्ड ३३ महिनाभित्र कालोपत्र सम्पन्न गर्नु पर्ने गरी मैनाचुली सफल जेभी, काठमाडौंसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्रले बताइन् । उनले भनिन्, ‘सडक कालोपत्रका लागि बहुबर्सेर् ठेक्का लगाइएको हो, अहिले सडक छेउमा टेवा पर्खाल उठाउने, नाली बनाउने लगातका काम भइरहेका छन् ।’
संघबाट ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थप माग गर्नुपर्ने उनले बताइन् । बुद्धसिंह मार्गको कूल ३४ किलोमिटर सडक खण्डमध्ये ८ किमि तनहुँ हाइड्रो पावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किमि पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कान्तिपुरबाट