खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय अन्तर मावि राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी मावि बाक्सिलाले जितेको छ । आइतबारदेखि बिहिबारसम्म सञ्चालन गरिएको प्रतियोगीतामा १९ स्वर्ण, आठ रजत र तीन कास्य जित्दै पृथ्वी माविले प्रथम स्थान प्राप्त गरेको हो।
पृथ्वी माविको प्रांगणमा आयोजित प्रतियोगीतामा पाँच स्वर्ण, आठ रजत र छ कास्यसहित सूर्य मावि सुङदेल दोश्रो र पाँच स्वर्ण, दुई रजत र तीन कास्य जित्दै सुक्रजित मावि खार्ताम्छाले तेश्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई नगद क्रमशः ४० हजार, ३० हजार र २० हजारका साथमा शिल्ड, मेडर र प्रमाण–पत्र प्रदान गरिएको छ । विजेता विद्यालयलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, सामाजिक विकास समिति संयोजक एवंम् फेदीका वडाध्यक्ष निरकुमार राई, बाक्सिलाका वडाध्यक्ष खड्गबहादुर तामाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा गाउँपालिकाका आठ माविको सहभागिता थियो । अन्य सहभागी विद्यालयलाई आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप १५र१५ हजार प्रदान गरिएको शिक्षा संयोजक सुरेन्द्र खनालले बताए । खनालका अनुसार रेणुका मावि दिप्सुङले एक स्वर्ण, पाँच रजत र चार कास्य, कुहुडाँडा मावि फेदीले चार रजत र पाँच कास्य, राष्ट्रिय मावि बासपानीले दुई रजत र पाँच कास्य, थर्पुडाँडा मावि सप्तेश्वरले एक रजत र एक कास्य तथा जालपा मावि बाक्सिलाले एक कास्य जितेको छ ।
छात्राछात्रतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरको दौड, रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, भलिवल र कबड्डीको एकरएक स्वर्णसहित ३० स्वर्ण पदकका लागि प्रतियोगिता गराइएको थियो । प्रतियोगीता उद्घाटनका क्रममा उत्कृष्ट मार्चपास गर्ने जालपा मावि बाक्सिलालाई नगद पाँच हजार र राष्ट्रिय मावि बासपानीलाई तीन हजार प्रदान गरिएको छ ।
संघीय सरकारको सशर्त बजेट एक लाखमा गाउँपालिकाको चार लाख थपेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आयोजना गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।