बुटवल । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको ६ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन अझै सञ्चालनमा आउन नसकेको हो।
सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकेको बुझिएको छ। सम्मेलन केन्द्रको सञ्चालन समिति गठन गर्ने र समितिले सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने गरी कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा पठाइएको छ । सरकारले आफैँ सञ्चालनको जिम्मा लिँदा व्यवस्थापन समस्या देखिने भएकाले समितिले निजी क्षेत्रलाई लिजमा दिने गरी कार्यविधिमा व्यवस्था गरिएको छ। कार्यविधि स्वीकृत भएर आएपछि मात्र केन्द्र सञ्चालन हुनेछ।
यो सम्मेलन केन्द्र काठमाडौँ बाहिरको पहिलो अन्तर्राष्ट्रियस्तरको हो । एक अर्ब ११ करोड लागतमा सहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण विभागले सो केन्द्र निर्माण गरेको हो । यसमा मुख्य हल एक हजार सिट क्षमताको छ ।
बुटवल मण्डपको साढे छ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य र अन्य १२ वटा हल छन् । आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झण्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हलमा बाल्कोनी र भुइँतलामा गरी आठ सय ७२ वटा कुर्सी जडान गरिएको छ । यस्तै ५० र ४२ सिट क्षमताका दुई वटा लेक्चर हल तथा ८० र तीन सय जना क्षमताका सेमिनार हल रहेका छन् । साथै ७२ देखि एक सय २६ जना क्षमताका छ वटा बैठक कक्ष, तथा तीन सय ५० र पाँच सय ८६ जना क्षमताका थप दुई वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने क्षमता छ ।
अपाङ्गतामैत्री सम्मेलन केन्द्रमा चार सयवटा चारपाङ्ग्रे र चार सय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल र हेलिप्याडसमेत बनाइएको छ । सम्मेलन केन्द्रमा बाल उद्यान, चमेनागृह, सर्भिस भवन, कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी, प्रवेश हुने र बाहिरिने गरी पाँच वटा अलग अलग गेट निर्माण गरिएका छन् । जसमध्ये एउटा भिआइपी गेट छ । प्रत्येक गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ ।