माडी । माडी नगरपालिका वडा नं ३ बघौडामा प्रस्तावित माडी रङ्गशाला निर्माण कार्यको शुक्रबार शिलान्यास गरिएको छ ।
नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा माडी नगरपालिका ३ बघौडा स्थित खेल मैदानमा तेश्रो राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा प्रमुख अतथिको रूपमा आएका बागमती प्रदेशका अर्थ तथा योजना मन्त्री जग्गनाथ थपलियाले बघौडाको चौरमा रङ्गशालाको शिलान्यास गरेकाहुन।
उक्त अवसरमा मन्त्री थपलियाले माडी सम्भावनाले भरिएको क्षेत्र भएको बताउँदै उनले साझा समन्वय र सहकार्यले मात्र बिकास हुने भएकाले सबै मिलेर लाग्न आग्रह गरे। उनले माडीको समग्र क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथमिकता दिएर काम गर्ने उल्लेख गर्दै बघौडा अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउने घोषणा गरे ।
उनले रंगशालाले माडीको विकासका लागि मात्र नभएर एउटा राष्ट्रलाई चिनाउन समेत सहयोग पु¥याउने बताय । रंगशाला निर्माणमा ’बागमती प्रदेश सरकारबाट सहयोग रहने र माडी नगरपालिकासंग साझेदारी गरिने’ उनको प्रतिबद्धता थियो ।
माडी बघौंडास्थित खेलकुद चौर र मगोई खोलाको बिचमा स्थानीय युवा क्लब, महिला समूह र गाउँ समाजले बृक्षारोपण गरी तयार गरेको ’शहीद कमल विपीन स्मृति पार्क’मै ’प्रस्तावित माडी रंगशाला’को निर्माण हुने भएको हो। केहि महिनाअघि सेल्फी पार्कका रुपमा सिंगारिएको सो पार्कका सबै रुखहरु कटान गरी रंगशाला निर्माणस्थल तयार पारिएको छ ।पार्कको छेउमै माडी कभर्ड हलको निर्माण सकिई हाल प्रयोगमा आउन सुरु भइसकेको छ ।
बिहीबार देखि सञ्चालन सुरु भएको ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’फागुन १३ गते शनिवारसम्म सञ्चालन हुनेछ । राष्ट्रिय स्तरको सो प्रतियोगितामा सातै प्रदेशका पुरुष तथा महिला गरी १३५ जना खेलाडीहरु बीचमा २६ वटा विधाहरुमा प्रतिस्पर्धा हुँदैछ ।
अफिसियल, जुरी, मेडिकल र मार्सलसहित ४२ जना अफिसियलहरुले खेल सञ्चालन गर्नेछन् ।प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार पुरस्कार राशीको व्यवस्था गरिएको छ । जुनियर नेश्नल रेकर्ड होल्डरलाई सात हजारको नगद राशीले सम्मान गरिने एथलेटिक्सका राष्ट्रिय रेफ्री कृष्ण चौधरीले जानकारी दिय ।
कार्यक्रममा संघीय सांसद कल्पना चौधरी,बागमती प्रदेशका सांसद ठाकुर प्रसादढकाल र नेपाल एथलेटिक्स संघका केन्द्रिय उपाध्यक्ष तेजेन्द्र थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।