रौतहट। बखेडा झिकेर कामै नगर्ने ठेकेदारलाई स्थानीय तहले कस्न थालेका छन् । चन्द्रपुर–४ स्थित गैडाटार जाने बाटोको चाँदी नदीमा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई काम गर्न दबाब बढाएको छ । पुल निर्माणको काम तत्कालै सुरु नगरे डिभिजन सडक कार्यालयको सबै सेवा बन्द गराई पूर्वपश्चिम राजमार्गमा अनसन बस्ने अल्टिमेटमपछि ठेकेदारले बिहीबारबाट काम थालेका छन् ।
हिउँदमा आवतजावतमा सहज भए पनि बर्खाको बेला नदीमा जोखिम मोलेर यात्रा गर्नुपर्ने भन्दै पुलको ठेक्का पाएको पप्पु र शिवशंकर जेभीका ठेकेदार दयाराम साहलाई जनप्रतिनिधिलगायतका स्थानीयले ‘पुल कति वर्षमा बनिसक्छ’ भनेर र्याखर्याख्ती पारेका छन् । पुलको काम ५ महिनादेखि बन्द थियो । ३ दिनअघि स्थानीयले डिभिजन सडक कार्यालय रौतहटका प्रमुख दरोगाप्रसाद साह र ठेकेदार दयाराम साहलाई निर्माणस्थलमै बोलाएर पुल निर्माणमा कसले अवरोध गर्यो किन समयमा बनेन् अब कति वर्षमा बनिसक्छ भनेर प्रश्न गरेका थिए । उनीहरूले निर्माणस्थलमा पर्याप्त सामग्रीसहित कामदार राखेर तत्कालै काम सक्न दबाब दिएका छन् ।
वडा ३ का वडाध्यक्ष रवि देवकोटाले छिट्टै पुल निर्माणको काम सक्न ठेकेदारलाई दबाब दिन नछाड्ने बताए । ‘ठेकेदारले हदैसम्म लापरबाही र बेवास्ता गरेको छ । पुल निर्माणमा कतैबाट बाधाव्यवधान छैन,’ उनले भने, ‘ठेक्का सकारेर किन समयमा पुल सम्पन्न गर्दैनन् । ठेकेदारलाई अब के चाहिएको हो ’ जनप्रतिनिधि कड्किएर बोल्न थालेपछि डिभिजन प्रमुख साहले ठेकेदारलाई तुरुन्त कार्यालयमा आएर समस्याको समाधान निकाल्न भनेका थिए ।
गतवर्ष चन्द्रपुर–३ का स्थानीयले चाँदी नदीको पुल निर्माणमा हेलचेक्र्याई भएको भन्दै चाँडै काम सक्न डिभिजन सडक कार्यालयलाई ज्ञापनपत्र बुझाएका थिए । पप्पु–शिवशंकर जेभीले उक्त पुलको निर्माण २५ करोड ३६ लाखमा २४ हजारमा सकार गरेको हो । उसले २०७४ असार ३१ गते पुल ठेक्काको लिखित सम्झौता गरी २०७६ असार ३१ गते सक्नुपर्ने थियो । तर ५ वर्ष बित्दा पनि पुल बनेको छैन । पुलको तेस्रो पटक यही असार मसान्तसम्म सक्ने गरी म्याद थप भएको छ । पुल नहुँदा गतवर्ष गैंडाटार गाउँबाट चन्द्रनिगापुर आउँदै गरेका एक युवक बगाएर मृत्यु भएको थियो ।
ठेकेदारले सम्झौता गरेअनुसार २ वर्षमा पुल निर्माणको काम सक्नुपर्नेमा कछुवा गतिमा गर्न थालेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । उनीहरूले ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । गैंडाटारका स्थानीयलाई चाँदी नदी छलेर चन्द्रनिगाहपुर आउन कठिन हुन थालेपछि त्यहाँ पुल निर्माणको ठेक्का लागेको थियो । ठेकेदारले पुल बनाउन छाडेपछि त्यस भेगका स्थानीयले पुल निर्माण दबाब संघर्ष समिति गठन गरेका थिए ।
निर्माणस्थलमा कुनै किसिमको अवरोध नभए पनि ठेकेदारले कामै गरेको छैन । ‘निरन्तर काम गरे दुई–तीन महिनामै पुलको काम सम्पन्न हुन्छ,’ डिभिजन सडक प्रमुख साहले भने, ‘ठेकेदारले मन लगाएर कामै गर्दैन ।’ ५ वर्षको अवधिमा ठेकेदारले ७० प्रतिशत मात्र काम गरेको छ । पुलको काम अझै ३० प्रतिशत बाँकी छ । सम्झौताअनुसार निर्माणको काम नगरेकोले सडक कार्यालयले पनि ठेकेदार साहलाई काम सक्न दबाब दिइरहेको उनले बताए ।
ठेकेदार साहले आर्थिक अभाव, बर्खा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणले सम्झौताअनुसार निर्माणको काम सम्पन्न हुन नसकेको बताए । अब ४ वटा स्पान र रेलिङको काम मात्र बाँकी रहेको डिभिजन सडक कार्यालयले जनायो । सडक डिभिजन चन्द्रनिगाहपुरले जिल्लाभित्र ठेक्का लगाएको १३ वटा सडक र पुलको सम्झौताअनुसार काम नगरेको भन्दै ठेक्का नै रद्द गरेको जनायो । ठेकेदारले सम्झौताबमोजिम तोकिएको समयभित्र सम्पन्न नगरेको र पटकपटक ताकेता गर्दा अटेर गरेको भन्दै सडक डिभिजनले रौतहट र सर्लाहीभित्रको २४ वटा आयोजनाको ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइसकेको छ ।
शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि गौर नगरपालिका–४ स्थित टिकुलीयाघाटमा अलपत्र रहेको पुल तत्काल निर्माण गर्नुपर्ने माग राखेर आमरण अनशन बसेका स्थानीय सञ्जय सहनी र सरोकारवालाबीच आगामी डेढ वर्षभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने सहमति भएको छ । त्यो पुल पप्पु कन्स्ट्रक्सनले तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी ०७१ असार २९ मा सम्झौता गरे पनि अलपत्र छाडेको छ । सडक डिभिजनले पप्पुको ठेक्का रद्द गरिसकेको छ । समयमा पुल नबन्दा सर्वसाधारण जोखिम मोलेर डुंगा चढेर वारपार गर्न बाध्य छन् । कान्तिपुरबाट