कावासोती। राष्ट्रिय गौरवको रूपमा रहेको बुटवल नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले थप गरिएको परीक्षण अवधिको करिब चार महिनामा कार्य प्रगति मासिक दुई प्रतिशतले वृद्धि गर्दै लगेको छ ।
चाइना स्टेटले गत साउन २२ भित्र काम सम्पन्न गर्ने गरी आव ०७५।७६ मा फोरलेन सडक निर्माणको ठेक्का सम्हालेको थियो । तोकिएको समयमा काम नसकेपछि कम्पनीलाई सन्तोषजनक कार्यप्रगति देखाउने सर्तमा ३८४ दिनको समय सीमा पुनः थप गरिएको हो ।
सडक निर्माणका क्रममा फोरलेन सडक अन्तर्गतका १२ ठूला पुल मध्ये सबैमा फाउन्डेसन, फाइल फाउन्डेसनको काम सकिनै लागेको, सब स्टक्चर तथा सुपर स्टक्चरको काम भइरहेको बताइएको छ । यसैगरी माइनर ब्रिज २२ मध्ये १५ वटा सकिएको र ५ पुलमा निर्माण कार्य भइरहेको इन्जिनियर ढकालले बताए।
कल्भर्टहरूमा २१५ मध्ये ९३ कल्भर्ट निर्माणको काम सकिनुका साथै ४२ वटा निर्माणाधीन अवस्थामा रहेको बताइन्छ । यसका साथै हाल सडकको कतिपय ठाउँमा माटो पुर्ने, सम्माउने तथा मिलाउने काम भएको लोकाहा पुलदेखि डण्डा पश्चिमको पत्थर खोलासम्मको करिब ८ किमी क्षेत्रमा बेस तथा सवबेसका काम भइरहेको ढकालले बताए।
निर्माण कार्यमा आशातीत प्रगति नदेखिए पनि सडकमा निरन्तर काम भइरहेको र हाल माटो तथा निर्माण सामाग्री लगायत कुनै समस्या तथा बाधा अवरोध रहेको छैन । सहरी क्षेत्रमा ६ लेन, वन तथा खाली ठाउँमा ४ लेन र दाउन्ने पहाडमा ३ लेन रहने गरी डिजाइन भएको यो सडकको दाउन्ने क्षेत्रमा भित्तो खोतलेर सडक चौडा पार्ने काम भइरहेको सडक आयोजनाका इन्जिनियर धिरज ढकालले जानकारी दिए।
यसैबीच, नारायणगढदेखि दाउन्ने सम्म करिब ६४ किमी सडक समयमा नबन्दा स्थानीय बजार तथा सडक छेउका बासिन्दा र यात्रुहरू विगत ४ वर्षदेखि धुलोले पिरोलिएका छन् । निर्माण कम्पनीले पुनः ठेक्का नपाउँदासम्म परीक्षण र कार्यप्रगति देखाउने बहानामा सडकमा पानी छर्केर धुलो हटाए पनि हाल पानी हाल्ने काम सुस्ताएको छ । विभिन्न बहाना बनाई पहिलो पटकको म्याद गुजारेको सडक निर्माण कम्पनीले कछुवा गति जारी राखे फोरलेन सडक सम्पन्न हुन झण्डै थप तीन वर्ष लाग्ने जानकारहरू बताउँछन् । गोरखापत्रबाट