काठमाडौं। पोखराको पृथ्वीचोक क्षेत्र (चाइनापुल) नजिक सेती नदीमाथि नयाँ डिजाइनका दुईवटा पक्की पुल निर्माण हुने भएका छन् । हाल सञ्चालनमा रहेको चाइना पुलको उत्तर र दक्षिण साइटमा दुईवटा पुल चाइना पुलकै लेबलमा निर्माण हुने भएको हो । पोखराको सेती नदीमाथि रसुवा कन्स्ट्रक्सन कम्पनीले उक्त पुल निर्माणको जिम्मा पाएसँगै पुल निर्माण प्रकृया सुरु गरेको कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाले बताए ।
नेपालमा बनेका पुलहरू मध्ये नितान्त फरक प्रकृतिको पुल निर्माण हुने उनको दाबी छ । उनका अनुसार हाल निर्माण हुने उक्त पुलको बीचको स्पाम १ सय ४० मिटर, फुटपाथको क्षेत्र २५र२५ मिटरको स्पाम क्षेत्रफल राखी १ सय ९० मिटरको पुल निर्माण हुने भएको कम्पनीका प्रतिनिधि देवकोटाले बताए । हाल पोखरा रंगशालाको दक्षिण उत्तरतर्फको क्षेत्रमा अस्थायी क्याम्प निर्माण गर्न सुरु गरिएको छ भने निर्माण सामग्री फेब्रिकेसन र कंक्रिटका सामान ल्याउन थालिएको उनले जनाए ।
हाइ स्ट्रेन्थको कंक्रिट निर्माण हुने भएकाले गर्दा केही समयपछि पुल निर्माणस्थलमा रेडिमिक्सचर राखिने भएको छ । गाडी गुड्ने भाग साढे सात मिटर फुटपाथको रूपमा भने दुवै पुलको ३र३ मिटरको क्षेत्र रहने कम्पनीका प्रतिनिधि देवकोटाले जनाए । साढे १० मिटरको पक्की पुल निर्माण हुने भए पनि केही भाग टावरसहित गर्दा १३ मिटरको पुल निर्माण हुने देवकोटाले बताए ।
चाइना कम्पनीले केही वर्षअघि निर्माण गरेको उक्त पुलमा ९० मिटर बीचमा राखिएको छ भने सेतीको भाग जोखिम होला भनेर आफूहरूले १ सय ४० मिटर लामो क्षेत्रमा जग राखेर उक्त पुल निर्माण गर्ने उनले बताए । यस पुलको डिजाइन र नक्सा आफ्नै कम्पनीले बनाउने उनको भनाइ छ ।
उक्त परियोजना सेप्टेम्बर २०२२ मा सम्झौता भएको हो भने ३६ महिना समयसीमा भए पनि ६ महिना डिजाइनको समय रहेको छ । समयसीमा भित्र उक्त पुल निर्माण गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले उक्त पुल निर्माण गर्न नक्सा स्वीकृतका लागि हाल पेस गरेको छ । पोखराको सेती नदीमा ९४ करोडको लागतमा दुई वटा पुल निर्माण भएसंँगै चाइना पुलसहित अब तीनवटा पुलमा आवतजावत गर्न सकिने भएको छ ।
उक्त पुल पोखराका लागि नौलो र सेल्फि व्रृजको रूपमा निर्माण हुने कम्पनीले जनाएको छ । यसैबीच पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै उक्त पुल जतिसक्दो छिटो निर्माण गर्न पोखरा महानगरले आवश्यक समन्वय गर्न तयार रहेको महानगरका मेयर धनराज आचार्यले बताउँदै आएका छन् । कारोबार दैनिकबाट