विशाल बस्नेत
महोत्तरी । ‘दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खडकाको हो ।
बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्दछन् । बिहान दूध बेच्न जाने उनीमात्र एक्ला किसान होइनन् । उनीजस्तै गाउँका अन्य धेरै किसानहरु हुन्छन । जसले दूध बेचेर नै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
किसानका घर–घरमा नै पुगेर दुध लिने व्यक्ति पनि छन् । तर, धेरैजसो किसानहरु भने दुध आफैँ बजारसम्म पु¥याउने गर्छन् । जो आफैँले दूध बजारसम्म पु¥याउँछन्, उनीहरुले घरमै आएका दूध संकलकले दिनेभन्दा प्रतिलिटरमा ३० रुपैयाँ बढी पाउँछन् । ‘आफैँ जाँदा विचौलियामा परिँदैन, पैसा पनि बढी पाइन्छ,’ खड्काले भने ।
महोत्तरी ८० प्रतिशत भू–भाग ग्रामिण क्षेत्रले ओगटेको छ । दिनहूँ बढ्दै गएको सहरीकरणले किसानहरुको बजार थप सुनिश्चित बन्दै गएको छ । एउटा भैंसी पाल्ने किसानले मासिक १४ हजारसम्म कमाउँछन् । जसकारण खेतीपातीमा भन्दा बढी किसानको आकर्षण भैंसीपालनमा देखिने डेरी व्यवसायी विजय यादव बताउँछन । ‘म दूध लिन किसानको घर–घरमा नै पुग्ने गरेको छु । किसानहरुको घरमा कमसेकम दुईवटा भैंसी पालेको देखिन्छ,’ उनले भने ।
बर्दिबास नगरपालिकाका पूर्वप्रमुख बिदुरकुमार कार्की पनि भैंसीपालनमा नै लागेका छन् । ‘बजारमा दूधको माग बढ्दै गएपछि भैसीपालन गर्न थालेँ,’ उनले भने, ‘उन्नत जातको भैसी पालेर दूध बेच्ने गरेको छु ।’
यहाँका किसानले एक वर्षमा २ करोड १९ लाख लिटर दूध उत्पादन गर्छन् । तर, बजारको माग धान्न सकेका छैनन् ।
जिल्ला कृषि कार्यालय महोत्तरीका अनुसार दुधमा आत्मनिर्भर बन्न एक जना किसानले दैनिक ९० लिटर दूध उत्पादन गर्नुपर्छ । तर, किसानहरुले ७० लिटर मात्र दूध उत्पादन गर्दै आएका छन् ।