धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनि प्रदूषण नियन्त्रण गर्न रातिको समयमा डिजे (लाउडस्पिकर) बजाउन रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनि प्रदूषणको प्रभावलाई न्यूनीकरण गर्न आवश्यक देखिएको भन्दै बिहीबार एक सूचना जारी गरी अनावश्यक रूपमा ध्वनि प्रदूषणका सामग्री सञ्चालनमा रोक लगाएको हो।
प्रशासन कार्यालय धनुषाले जारी गरिएको सूचनामा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा विवाह, व्रतबन्ध, धार्मिक कार्यलगायत कार्यक्रमको आयोजना गर्दा ठूलो स्वरमा डिजे, माइक तथा ध्वनि यन्त्र बजाउँदा सर्वसाधारणको जनजीवन र स्वास्थ्यमा प्रतिकुल असर पर्न गएकोले अनावश्यक रूपमा राति १० बजेपछि डिजे, माइक तथा ध्वनि उत्पन्न गर्ने सामग्री सञ्चालन गर्न रोक लगाएको उल्लेख छ ।
यस्तै जारी सूचनामा ध्वनि प्रदूषणको प्रभावलाई न्यूनीकरण गर्न डिजे, माइक तथा ध्वनि उत्पन्न गर्ने सामग्री सञ्चालन रोक लगाउनुका साथै अश्लील गीत नबजाउन समेत अनुरोध गरिएको छ ।
सूचनामा भनिएको छ,‘जिल्लाको सहरी क्षेत्र एवं ग्रामीण क्षेत्रमा विवाह, व्रतबन्ध, धार्मिक कार्य लगायतको अन्य समारोह÷कार्यक्रमको आयोजना गर्दा ठुलो स्वरमा ध्वनि यन्त्र बजाउँदा ध्वनि प्रदूषण भई सर्वसाधारणको जनजीविका र स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न गएकोले ध्वनि प्रदूषणको प्रभावलाई न्यूनीकरण गर्न ध्वनि सम्बन्धी यन्त्रहरू (डी.जे., माइक तथा ध्वनि उत्पन्न गर्ने सामग्री) सञ्चालन नगर्न र सञ्चालन अवधिमा पनि अश्लील गीत नबजाउन सर्वसाधारणसँग अनुरोध गरिएको छ ।’
नियम उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम तत्कालै कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।