काठमाडौं। चीन सरकारले सुविधा सम्पन्न भवन बनाइदेला भनेर सिंजाली माविका शिक्षक, विद्यार्थीले आशा गरेको ११ वर्ष भयो। तर, अहिलेसम्म भवन बनेको छैन। गोर्खाको सहिद लखन गाउँपालिका–४ ताक्लुङको सुविधासम्पन्न भवन बनाइदिने भन्दै चिनियाँ अधिकारी, परराष्ट्र र अर्थ मन्त्रालयबीच २०६७।६८ मा सम्झौता भएको थियो। तर, हालसम्म भवन निर्माण सुरु नभएको विद्यालयका प्रधानाध्यापक बलनारायण श्रेष्ठले बताए।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल आएको चीन सरकारको उच्चस्तरीय टोलीले हिमाली जिल्लामा चिनियाँ विद्यालय जस्तै सुविधासम्पन्न १० वटा आवासीय विद्यालय भवन बनाउने सम्झौता गरेको थियो। तीमध्ये आठौं नम्बरमा आफ्नो विद्यालय परेको प्रअ श्रेष्ठले बताए।
आशैआशमा ११ वर्ष बितेको विद्यालयको गुनासो छ। यसबीचमा चिनियाँ टोली दुई पटक विद्यालयको अनुगमनमा आयो,अन्तिम पटक जग्गा हेरेर गएको पनि तीन वर्ष बित्यो, त्यसपछि अत्तोपत्तो छैन। भवन निर्माण नहुँदा अस्थायी टहरामा पठनपाठन गराउन बाध्य भएको उनले बताए।
२०७२ को भूकम्पले विद्यालयको ११ कोठे पुरानो भवन भत्किएपछि ‘रातो स्टिकर’ टाँसेको पुरानो भवन र जस्ताले बारेको टहरोमा पढाइ भइरहेको छ। भूकम्पले भत्किएका जिल्लाभरका सबै विद्यालय पुनर्निर्माण भइसके तर चीन सरकारले जिम्मा लिएको भनेर हाम्रो विद्यालय पुनर्निर्माण गर्ने दायित्व कुनै दातृ निकायले पनि लिएनन्। अहिले आएर न अरूले बनाउन पाए, न चीन सरकारले बनायो।
जस्ताले बारेको टहरोभित्र जाडोमा अति चिसो र गर्मीमा धेरै गर्मी हुँदा पठनपाठनमा समस्या हुने उनले बताए। टहरामा एउटा कोठाको आवाज अर्को कोठामा प्रस्ट सुनिन्छ। यसले पठनपाठनसमेत प्रभावित भएको उनको भनाइ छ। वर्षाको समयमा छाना चुहिएर कक्षाकोठाभित्रै पानी पस्छ, उनले भने, चैत–वैशाखमा एकातिर हावाहुरीको समस्या, अर्कातिर चर्को घाम लागेपछि बसिनसक्नु गर्मी। भवन नभएर साह्रै समस्या भएको छ।
यस वर्ष पनि भवन निर्माण सुरु हुने–नहुने अन्योल रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेलले बताए। यो परराष्ट्र मन्त्रलायले गरेको मन्त्रिस्तरीय सम्झौता हो। कहिले सुरु हुने–नहुनेमा हामी पनि अन्योलमा छौं, उनले भने, मित्र राष्ट्रको सम्बन्धको कुरा छ। हामीले छेउटुप्पो भेट्न सक्ने कुरा पनि भएन। भवन बनाउन चाहेका जिल्लाका सबै विद्यालयले नयाँ भवन पाएको भन्दै पौडेलले सिंजाली मावि साँच्चै मर्कामा परेको बताए।