काठमाडौं। बाग्लुङको गलकोट नगरपालिकाका वडा कार्यालयले सुविधासम्पन्न आफ्नै भवनमा बसेर सेवासमेत दिन थालेका छन्। पछिल्लो समय वडा नंं १ देखि ११ सम्म आफ्ना वडा भवन बनिसकेका छन्। नगरपालिका र प्रदेश सरकारको बजेट परिचालन गरेर भवन बनेका हुन । वडाध्यक्ष तेजबहादुर थापाका अनुसार ३७ लाख लगानी गरेर बनाएको भवन बाट अहिले सहज सेवा दिइरहेका छौं। थप १५ लाख लगानी गरेर रङरोगन र तारबारसमेत गरिसकेको उनले बताए।
नगरपालिकाको दुर्गम मानिने रायडाँडामा पनि वडा कार्यालय बनेको छ। लामो समयसम्म विद्यालयको जीर्ण भवनको कोठामा बसेको वडा आफ्नै भवनमा सरेपछि सेवा प्रवाहसमेत चुस्त भएको छ। एउटै कोठामा लामो समयसम्म दुईवटा टेबुल राखेर बस्यौँ, अहिले बल्ल सेवा प्रवाहमा सहज भएको, वडाध्यक्ष ज्ञानेन्द गौतमले जनाए।
एकतले भवनमा कार्यालय सञ्चालनमा आइसकेको उनले बताए। वडा नंं ६, ७ र ९ मा भने भवन निर्माणाधीन छन्। वडिगाड र निसीखोलामा पनि वडा कार्यालय धमाधम बन्दैछन्। यसरी वडा तहमै भवन बनाएर व्यवस्थित बन्ने लहर चलिरहे पनि बागलुङ नगरपालिकाले भने आफ्नै भवन अलपत्र पारेको छ।
बरेङले गत वर्ष नै भवन निर्माण थालेको छ, भने जैमिनी नगरपालिकाले पहिलो चरणको काम थालिसकेको छ। जग्गा प्राप्तिमा ढिला भएकाले अड्केका थियौँ, अब कामले गति लिन्छ, नगरप्रमुख इन्द्रराज पौडेलले भने, जैमिनीका वडामा भने आफ्नै भवन हुने थोरै छन्। तमानखोलामा पनि वडा भवन बन्ने क्रम सुरु भएको छ।
वडा नंं १ र २ को भने अधिकांश सेवा पालिकाबाटै हुने गरेको छ। केही वडा पुराना गाविसको भवनमा सञ्चालित छन् भने केही स्थानमा अझै भाडामा छन्। जग्गाको व्यवस्थापन भएपछि भने वडाले भाडा तिर्न छाडेर भवनकै तयारी गरेको जनप्रतिनिधिले बताए।