काठमाडौं। समयमै सरकारले निर्माण हुने क्षेत्रको साइड क्लियरेन्स गर्न नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार (कलंकी–चावहिल) को काम रोकिएको छ।
करिब ४ महिना अगाडीनै सडक विभागले साइड क्लियरेन्स हुन बाँकी महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर पत्राचार गरेको भएपनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि काम रोकिएको हो। चिनियाँ कम्पनीले भने साइड क्लियरेन्सपछि मात्र काम अघि बढाउने बताउँदै आएको छ, भने सरकारले सबै क्षेत्रको साइड क्लियरेन्स गर्न सकेको छैन।
सडक विभागका उप–महानिर्देक तथा प्रवक्ता शिव नेपालका अनुसार निर्माण साइड किल्यर हुन बाँकी रहेको साइड छोडेर चिनियाँ निर्माण कम्पनीलाई काम अघि बढाउन पत्राचार गरेको भएपनि यसबारे औपचारीक जानकारी नदिएको हो। उनले भने, चिनियाँ निर्माण कम्पनीले साइड क्लियर नभएको बताउँदै आएको छ। तर बाँकी काम अघि बढाउन भनेको थियौं, हालसम्म कुनै प्रतिक्रया दिएको छैन। अहिले आयोजनाको काम अघि बढेको छैन। तर विस्तारको लागि २ ओटा हाइटेन्सनलाई हटाउने र अन्य साइड किल्यर गर्ने काम भने जारी रहेको जनाइको छ।
कलंकी–महाराजगञ्ज–सुकेधारा पुलसम्मको साइड क्लियरेन्सको काम करिब पूरा भइसकेको छ, भने महाराजगञ्जको २ सय ४४ मिटर सडक खण्डको सायड क्लियर हुन बाँकी रहेको छ। सो क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा सरकारले दिनु पर्नेछ।
उक्त परियोजनामा ९७ प्रतिशत भैतिक प्रगति भएको छ। उक्त सडकखण्डको लम्बाई ११.६ किलोमिटर छ। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने सो आयोजनाको नेपाल सरकारले साइड क्लियर गरेर दिएपछि डिजाइन गरेर विस्तार गर्नेगरी सरकारसँग सम्झौता गरिसकेको छ। साइड करिब क्लियर भएको अवस्थाले गर्दा डिजाइसहितको माग गरेको भएपनि कुनै प्रतिक्रीया नआएको प्रवक्ता नेपालको भनाइ छ।
गत असोजमा मन्त्रालयमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगञ्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको थियो। सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना छ। कलंकी–महाराजगञ्ज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ। तर डीपीआर निर्माणका लागि सीमा क्षेत्र खाली हुनुपर्ने चिनियाँ पक्षको सर्त रहेको छ।
कुल ६२ मिटर चौडाई रहने सडकमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ। बीचमा डिभाइडरसहितको ४ लेन र दायाँवायाँ २/२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ। सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ।