काठमाडौं। हुलाकी राजमार्ग अन्तगर्त नेपालगन्ज–मैनापोखर–गुलरिया चार लेनको दायाँबायाँ सडक विस्तार कार्य सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका अनुसार तीन वर्षभित्र सम्पन्न गर्नेगरी सुरु भएको २७.६२ किलोमिटरमध्ये ११.४ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेनको निर्माण हुनेछ ।
कुल दुई अर्ब ७८ करोड २९ लाख ४१ हजार ८ सय ३६ रुपैयाँको लागतमा निर्माण हुने सडकको बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा अस्फाल्ट कंक्रिट प्रविधिको सडक स्तरोन्नति हुने कार्यालयले जनाएको छ । सडक विस्तार योजनाअन्तर्गत नेपालगन्ज–गुलरिया सडक खण्डको पाँच स्थानमा चार लेन सडक विस्तार हुनेछ भने ६ स्थानमा दुई लेन सडक निर्माण हुने इन्जिनियर कृष्ण पाण्डेले जानकारी दिए ।
बाँकेमा निर्माण हुने ११.६ किलोमिटरमध्ये नन्दनी मिलदेखि खजुरासम्म ५.४ किलोमिटर चार लेन बन्नेछ भने खजुरादेखि मानखोलासम्म ६.३६ किलोमिटर दुई लेनको सडक विस्तार हुने इन्जिनियर पाण्डेले बताए । त्यस्तै बर्दियामा निर्माण हुने १५.८६ किलोमिटरमध्ये ६.२ किलोमिटर चार लेन र ९.६६ किलोमिटर दुई लेन सडक विस्तार हुनेछ ।
जसमध्ये बर्दियाको भोलागौडीमा एक किलोमिटर, मैनापोखर १.८, तिलकानामा १.२ र कण्ठपुर–सितला–गणेशपुर २.२ किलोमिटर चारलेनको सडक निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ । त्यसैगरी मानखोला भोलागौडी १.५४ किलोमिटर, भोलागौडी मैनापोखर २ किलोमिटर र मैनापोखर तिलकाना १.२ किलोमिटर दुई लेनको निर्माण हुने गरी कामअघि बढेको बताइएको छ ।
त्यस्तै तिल्काना–कण्ठपुर १.२ किलोमिटर र गणेशपुरदेखि भादापुलसम्म ३.१२ किलोमिटर सडकसमेत दुई लेनको बन्ने इन्जिनियर पाण्डेको भनाइ छ । सडकखण्ड विस्तार योजनाअन्तर्गत हाल माटो पटानका साथै सडकमा पर्ने विभिन्न कल्भर्ट निर्माण भइरहेको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रोजेक्ट म्यानेजर नविन शर्माले जानकारी दिए ।
प्रारम्भिक चतरणको निर्माण कार्य सुरु भएको बताउँदै कुनै अवरोध नभए सम्झौताअनुसार निर्माण सक्ने उनको भनाइ छ । कार्यालयका अनुसार सडक निर्माणका क्रममा विभिन्न चुनौतीसमेत देखिएका छन् । सडकमा पर्ने करिब ५ सय ४० वटा रुख कटान गर्नुपर्ने, नन्दनी मिलदेखि खजुरा बजारसम्मका घर टहरा हटाउने, विद्युत र टेलिफोनका पोल तथा तार स्थानान्तरण गर्नुपर्ने, पानीको पाइपलाइन स्थानान्तरण र सिँचाइ कुलो रहेको ठाउँमा काम गर्नुपर्ने विभिन्न चुनौती रहेको कार्यालयले जनाएको छ ।
सबै कार्य प्रकृयागत रूपमा भए सम्झौताअनुसारको सम्पन्न गर्नुपर्ने समय २०८२ मंसिर २७ सम्ममै सकिने कार्यालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि बाँकेका विभिन्न स्थानका साथै कैलाली र बर्दियाका बासिन्दालाई नेपालगन्ज आउजाउ गर्न सहज हुनेछ । कारोबार दैनिकबाट