म्याग्दी। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आगमन बढेसँगै अन्नपूर्ण गाउँपालिका–६ घारस्थित हिमालय चीज उद्योग सञ्चालनमा आएको छ । कोरोना कहरका कारण उद्योग ३ वर्षदेखि बन्द थियो । उद्योग सञ्चालनमा आएसँगै यस क्षेत्रका गोपालहरू उत्साही भएका छन् । स्थानीय गाईको दूधबाट उत्पादित चीज सेवन गर्ने पर्यटक बढेपछि दूध बिक्री हुने भएकाले उनीहरू खुसी भएका हुन् ।
लकडाउनका कारण पर्यटक आउन छोडेसँगै २०७६ फागुनदेखि बन्द भएको चीज उद्योग पुनः सञ्चालनमा ल्याइएको हो । घारको चीज उद्योग खुले पनि अन्नपूर्ण–५ पाउद्वारको खयरबराही र राम्चेको राम्चे चीज उद्योग भने अझै खुलेका छैनन् । ‘चीजका खास उपभोक्ता पर्यटन क्षेत्र फेरि लयमा फर्कने विश्वासमा तीन वर्षदेखि बन्द चीज उद्योग सञ्चालनमा ल्याएका छौं ।
हिमालयन चिज उद्योग सञ्चालन गर्दै आएको नीलगिरि गाईपालन कृषक समूहका सचिव श्याम खड्काले भने, ‘धेरै कृषक पेसाबाट विस्थापित भएँ । गाई पाल्न नछोडेका किसानको दूध खेर गइरहेपछि चीज उद्योग फेरि सञ्चालन गर्ने निर्णयमा पुग्यौं ।’
३५ जना गाईपालक आबद्ध नीलगिरि गाइपालक कृषक सहकारीले चीज उद्योग सञ्चालनमा ल्याएको थियो । सिजनमा उद्योगले प्रतिदिन ३० केजी बढी चीज उत्पादन गर्थ्यो । अहिले दैनिक ६० लिटर दूध संकलन भई ६ केजी चीज उत्पादन गरिरहेको उद्योगले जनाएको छ । उद्योग सञ्चालनमा आएसँगै प्रतिलिटर ८० रुपैयाँ रहेको दूधको मूल्य बढाएर एक सय पुर्याइएको छ । ‘दूधको चीज बनाउनेबाहेक अर्को ज्ञान र प्रविधि हामीसँग छैन ।
दूध बेचेर गाईको ऋण तिरौंला, दुई पैसा बच्ला भन्ने थियो, कोरोनाले तीन वर्ष खायो,’ किसान लिलबहादुर खड्काले भने, ‘दूधबाट पनिरलगायत विभिन्न खाद्यवस्तु उत्पादन गर्न सकिन्छ तर नजिकै ठूला बजार छैन, चीजलाई जस्तो धेरै दिन स्टोर गरी राख्ने हामीसँग उपकरण छैन ।’ कान्तिपुरबाट