कास्की। दुई जिल्ला अर्थात् प्रदेश राजधानी पोखरासँग जोड्ने कास्कीको पुम्दीभुम्दी र स्याङ्जाको फेदीखोला सडक ६ वर्षदेखि अलपत्र छ। निर्माण कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए सो सडक २०७५ असार ३० मा नै सम्पन्न हुने थियो। तर, ठेकेदारका लापारबाहीका कारण हालसम्म पनि सडक अलपत्र अवस्थामा रहेको छ। सो सडकको प्रत्यक्ष रेखदेख पूर्वाधार विकास कार्यालय कास्कीले गर्दै आएको छ।
दुई जिल्लाकै महत्त्वपूर्ण मानिएको यो सडक लामो समयसम्म अलपत्र परेपछि संघीय सरकारले २०७५ मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। प्रदेशमा हस्तान्तरण भएपनि पर्याप्त बजेट नदिने र ठेकेदारले नै वेवास्ता गर्दा सडक अलपत्र परेको पूर्वाधार विकास कार्यालयका प्रमुखले बताएका छन् । सडक निर्माणको विषयमा बारम्बार ठेकेदारसँग गर्दा जहिले हुन्छ–हुन्छ मात्र भन्ने तर काम नगर्ने गरेको र हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको कारण अब बैंक धरौटी नै फिर्ता गर्ने कुरा उनले जानकारी गराएका छन्।
उक्त योजनाको लागि पहिलोपटक संघीय सरकारले २०७३ मा ठेक्का लगाएको थियो । तर समयमै काम नगरेपछि २०७७ जेठ ३० मा सम्पन्न गर्ने गरि दोस्रोपटक म्याद थप भएपछि पनि। सडक निर्माण नभएपछि कार्यालयले पुनः २०७७ मंसिर २९ मा सम्पन्न हुने गरि म्याद थप गरिएको जनाएको छ। ६ करोड २२ लाख १३ हजार ५ सय ९० ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आर्थिक वर्षमा २ करोड ३५ लाख रुपैयाँ विनियोजन भएको छ। यस सडक निर्माणको लागि शंकरमाली निर्माण सेवाले निर्माणको जिम्मा लिएको हो।
त्यस्तै, २०७४ वैशाख २६ मा सम्झौता भई २०७५ फागुन ३० मा सम्पन्न हुनुपर्ने फुलबारी–भलाम–बाटुलेचौर सडकलाई दुईपटकसम्म म्याद थप गरिएको छ । तोकिएको समयमै निर्माण नभए पनि २०७६ चैत १५ र २०७७ असोज १५ सा सम्पन्न गर्ने गरि पटकपटक म्याद थप गरिएको कार्यालयका इन्जिनियर अनुप थापाले बताए का छन्। उनका अनुसार ४ करोड ४१ लाख २ हजार ५ सय ५३ ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ मात्र बजेट विनियोजन भएको छ।
संघबाट हस्तान्तरण भई आएका योजनाको लागि बजेट संघले नै उपलब्ध गराउने हो तरआवश्यक बजेट नआउने हुँदा योजना यसै हराएर जाने साथै निर्माण कम्पनीको लापारबाहीको कारण पनि एक वर्ष बजेट परेको छ भने अर्को वर्ष काटिने गरेको कुरा इन्जिनियर थापाले बताए का छन्। उनले निर्माण कम्पनीलाई कारबाही गर्ने भन्दै काम गर्न अनुरोध गर्दा पनि वेवास्ता गर्ने गरेको बताएका छन्। यस सडकको निर्माणको जिम्मा रसुवा क्रेटिभ जेभीले लिएको हो। फुर्सेखोला–रायोदी–मट्टीखान पनि दुई जिल्ला जोड्ने सडक हो। २०७४ असार २८ मा सम्झौता भएको यस सडकको सम्पन्न हुनुपर्ने मिति २०७६ पुस २५ रहेको थियो। तर, तोकिएको समयमै काम नभएपछि कार्यालयले २०७७ फागुन १ सम्मलाई म्याद थप गरेको थियो। तर पनि हालसम्म निर्माण पुरा हुन सकेको छैन्। निर्माण कार्यको जिम्मा एसबीए एसपी सिरुवा जेभीले लिएको छ ।
कार्यालयका अनुसार कम्पनीका ठेकेदार सम्पर्कविहीन छन् । ३१ करोड ९ लाख ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन भएको छ। यसैगरी, वेगनासताल–आनन्द ज्योति मावि माझथाना सडकलाई पनि दोस्रोपटक म्याद थपिएपनि निर्माण कार्यले गति लिन सकेको छैन। सडक निर्माणको लागि लामा विर्डस कम्पनीले निर्माण कार्यको जिम्मा लिएको हो।
२०७५ पुस ५ मा सम्झौता भएको यस सडकको निर्माण अवधि २०७७ कात्तिक २८ सम्म हो । तर, तोकिएको समयभित्र काम नभएपछि कार्यालयले २०७७ चैत २८ सम्मलाई म्याद थप गरेको थियो। ७ करोड ८४ लाख ६ हजार ठेक्का सम्झौता रकम रहेको यस योजनाको लागि चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ मात्र विनियोजन भएको कार्यालयले जनाएको छ। कतिपय योजना बजेट अभावका कारण तोकिएको समयभित्र सम्पन्न गर्न समस्या रहेको भए पनि कतिपय निर्माण कम्पनीकै कारण ढिलासुस्ती भएको कार्यलयले जनाएको छ।