पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित चिर्तुङधारामा बन्न लागेको २२० केभी सबस्टेसन आयोजनाको काममा ढिलाइ भएको छ। मुआब्जा वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय जग्गाधनीले मुआब्जाबापतको रकम नबुझेपछि सबस्टेसन निर्माणको काममा ढिलाइ भएको हो।
पाल्पासहितका जिल्लाको विद्युत् अवरोध हटाउन चिर्तुङधारामा सबस्टेसन निर्माण गर्ने विद्युत् प्राधिकरणको योजना छ। त्यसका लागि माडी चक्रपथ नजिकका खेतीयोग्य १७४ रोपनी जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ। यद्यपि एक वर्षको अवधिमा पनि जग्गाधनीलाई मुआब्जा वितरणको काम सकिएको छैन।
स्थानीय जग्गाधनीले बजार मूल्यअनुसार जग्गाको क्षतिपूर्ति रकम नपाएको भन्दै मुआब्जा बुझ्न मानेका छैनन्। सबस्टेसन बनाउन भनिएको स्थानका ५३ जग्गाधनीमध्ये अधिकांशले मुआब्जा लिन मानेका छैनन्। उनीहरूले जग्गाको पुनः मूल्याङ्कन हुनुपर्ने भन्दै जिल्लाका राजनीतिक दल, प्रशासन, आयोजना कार्यालय तथा सरोकारवाला पक्षलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरेका छन्।
हाल निर्धारण भएको क्षतिपूर्तिको रकमले त्यस क्षेत्रमा खेतीयोग्य जग्गा खरिद गर्न नसकिने जग्गाधनीहरूको भनाइ छ। उनीहरूले एउटै सरकारी निकायबाट पनि सोही स्थानको जग्गाको मूल्याङ्कन फरक–फरक गरेकोमा आपत्ति जनाएका छन्। हाल निर्धारण भएको मूल्याङ्कनको रकमले आफूहरू सडकमा जाने अवस्था सिर्जना भएको प्रभावित क्षेत्रका जग्गाधनी खुमबहादुर चिदीले गुनासो गर्नुभयो। जग्गाको मूल्य निर्धारण गर्नुअधि आफूहरूसँग कुनै छलफल नगरेको र हचुवामा मूल्य निर्धारण गरेर विस्थापित गर्न खोजेको उनको भनाइ छ।
आयोजना पक्षले भने आउने २०७९ चैतदेखि सबस्टेसन निर्माण गर्ने क्षेत्रमा जग्गा सम्याउने, स्ट्रक्चर बनाउने काम सुरु गरिने जनाएको छ। आगामी चैत महिनादेखि नै सबस्टेसन रहने क्षेत्रमा पूर्वाधार निर्माणको काम सुरु हुने आयोजना प्रमुख अर्जुन महर्जनले जानकारी दिए। माघदेखि नै काम सुरु गर्ने योजना भए पनि मुआब्जालगतयका कारणले ढिलाइ भएको उनले बताए।
विगत डेढ दशकदेखि पाल्पामा भोल्टेज नहुने, बर्सातको समयमा दुई÷तीन दिनसम्म विद्युत् अवरोध हुने समस्या छ। सोही समस्यालाई समाधान गर्न सबस्टेसन निर्माण हुन लागेको पाल्पा वितरण केन्द्रका सूचना अधिकारी भागीरथ बस्यालले जानकारी दिए। “सबस्टेसन निर्माण भएपछि पाल्पामा पटक–पटक विद्युत् अवरोध हुने समस्या समाधान हुन्छ,” बस्यालले भने “बुटवलबाट विद्युत् काटियो भन्ने अवस्था रहँदैन।” आयोजना निर्माण गर्न डेढदेखि दुई अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको आयोजना प्रमुख महर्जनले जानकारी दिए। हाल बुटवलबाट तानसेनसम्मको ४७ किलोमिटर विद्युत् लाइनबाट जिल्लामा विद्युत् वितरण हुँदै आएको छ। लामो र जङ्गलको क्षेत्रबाट विद्युत् लाइन हुँदा विद्युत् अवरोधको समस्या रहेको पाल्पा वितरण केन्द्र प्रमुख विवेक अधिकारीले जानाकरी दिए।गाेरखापत्रबाट