हेमन्त केसी
जाजरकोट । रुकुम पश्चिमको चौरजहारीमा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले कार्यालय स्थापना भएको तीन वर्षपछिबाट सेवा सुरु गरेको छ ।
कार्यालय स्थापना गरेको तीन वर्षसम्म पनि बजेट तथा कर्मचरीको व्यवस्था नहुँदा उद्घाटन गरिएको बोर्डबाहेकको अन्य सेवा प्रवाह हुन सकेको थिएन ।
कार्यालय स्थापना भएको लामो समयसम्म पनि सेवा सुचारु नभएपछि नागरिकस्तरबाट पनि आलोचना भएको थियो । तीन वर्षपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यालयको सेवा उद्घाटन गरे । रामप्रसाद शर्माको ब्लुबुक नवीकरण गरेसँंगै सेवा सुचारु भएको हो । अहिले तत्कालका लागि कार्यालयबाट दर्ता, नामसारी, कर असुल, ब्लुबुक नवीकरण सेवा प्रवाह हुने कार्यालय प्रमुख आनन्द चपाईंले जानकारी दिए ।
अहिले पनि कार्यालयमा प्राविधिक कर्मचारी छैनन् । प्राविधिक कर्मचारी आएमा सवारी सरुवा सहमति दर्ता, सवारी जाँच पास, रुट परमिट जारी, नवीकरण, अस्थायी रुट निर्धारणलगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख चपाईंले बताए । उनका अनुसार लाइसेन्सलगायतका सेवा भने ट्रायल सेन्टर बने पछि प्रवाह हुनेछन् ।
ट्रायल सेन्टर बनेपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी, नवीकरणलगायतका सेवा सुचारु हुनेछन् । त्यस्तै विभागबाट कोड प्राप्त भएमा लाइसेन्स नवीकरण पहिला सुरु हुनसक्ने कार्यालयले बताएको छ । चौरजहारी नगरपालिका–२ मा रहेको कार्यालयमा अहिले सातजनाको दरबन्दी छ । तर अहिले कार्यालयमा अप्राविधिक तीनजना मात्र कर्मचारी छन् ।