तनहुँ। ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरको झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेल–२ छेडिएको (ब्रेक थ्रु) छ । नदीको पानी निकास गर्न अस्थायी रूपमा प्रयोग गर्ने गरी ६२६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको आयोजना प्रमुख राजाभाई सिल्पकारले बताए ।
आयोजनाको ड्याम निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने भएकाले उक्त टनेल बनाइएको उनले बताए । उनले भने, ‘नदीकै सतहमा टनेल निर्माण भएको छ, ड्यामसाइट निर्माण भएपछि यो टनेल बन्द गरिन्छ । टनेल ११.४ मिटर व्यासको रहेको छ ।’
आयोजनाले डाइभर्सन टनेल–१ गत माघ तेस्रो साता ब्रेक थ्रु गरेको थियो । उक्त टनेल सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४ सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास रहेको छ । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त टनेललाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रूपमा प्रयोग गरिनेछ । आयोजनाको हालसम्म भौतिक प्रगति ३५.३४ प्रतिशत भएको सिल्पकारले बताए । उनका अनुसार तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१.८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । यस अवधिमा १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
आयोजनाको पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो बाँधलगायत संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन टनेलहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायत काम भइरहेका छन् । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसी भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत–प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ५० करोड ५० लाख डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार।विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर ब्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कान्तिपुरबाट