काठमाडौं । राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ ।
आयोगले पत्रकार सम्मेलन गरी हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा उक्त सङ्ख्यामा भूमिहीन सुकुम्वासी रहेको जानकरी दिएको हो ।
मकवानपुरमा १० वटै स्थानीय तहमा तीन सय ७९ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ जना अव्यवस्थित भूमिहीन बसोबासी रहेको र उनीहरुले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको आयोगको भनाइ छ ।
आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीनहरुको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकोले उनीहरुले एक वर्षभित्र नै जग्गा प्रमाणपत्र लालापुर्जा प्राप्त गर्ने बताउनुभयो । जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी त्यहाँको ३० जनाको जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकरी दिँदै पहिलो चरणमा भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा दिइने बताउनुभयो । यसकार्यमा सबैको सहयोग आवश्यक हुने उहाँको भनाइ छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूमिहीन सुकुम्वासीको समस्या छिटो समाधान गर्नुपर्नै विचार व्यक्त गर्नुभयो ।
यसैबीच भूमिअधिकार मञ्च हेटाँैडाको अध्यक्ष पदमा गोविन्दप्रसाद ९जी० न्यौपाने सर्वसम्मतले चयन हुनुभएको छ । मञ्चको नगर उपाध्यक्ष पदमा टीकाप्रसाद भट्टराई, सचिव पदमा ज्ञानबहादुर थिगं, सहसचिव पदमा रुकमणि तिमिल्सिना र कोषाध्यक्ष पदमा अनुपा घलान चयन हुनुभएको छ ।
यसैगरी सदस्य पदमा जमुना राई, कृष्ण वल, सोमबहादुर थोकर र दुर्गादेवी न्यौपाने पौडेल चयन भएको मञ्चका जिल्ला सदस्य विष्णु आचार्यले जानकारी दिनुभयो ।