पाल्पा। पाल्पाको रैनादेवी छहरा–४ छहराको सुन्दरढुंगा–सालझन्डी सडकअन्तर्गत झिमझिमे–जलुके खण्ड कालोपत्र गर्ने काम तीन वर्षदेखि अलपत्र छ । झन्डै साढे आठ किलोमिटर कालोपत्र गर्ने गरी ठेक्का भए पनि रुख कटानको अनुमति नपाएपछि काम अलपत्र परेको हो । २०७७ जेठ २६ मा सम्झौता भएको सडकको कालोपत्र रुख कटान अनुमति नपाएपछि रोकिएको छ ।
रुख कटानको अनुमति पाएको भए २०७९ साउनमै कालोपत्र भएर अर्को खण्डको ठेक्का लागिसक्थ्यो । कालोपत्र गर्न रैनादेवी छहराको सुन्दरढुंगा र रूपन्देहीको सालझन्डी झिमझिमेदेखि काम सुरु भएको हो । सुन्दरढुंगातर्फ रैनादेवी छहरा गाउँपालिकाले समपूरक बजेटबाट झन्डै दुई किलोमिटर सडक कालोपत्र भइसकेको छ । तर, रूपन्देहीको सिमानाबाट सुरु कालोपत्रको काम रैनादेवी छहरा–७ बल्ढेङढी जोगदमार क्षेत्रमा अलपत्र परेको रैनादेवी छहरा–७ बल्ढेङगढीका वडा सदस्य सूर्य कार्कीले बताए । ‘सडक कालोपत्र गर्ने काममा वन विभागले अवरोध गरेको भन्दै ठेकेदार कम्पनीले काम अघि बढाएको छैन,’ उनले भने, ‘जसले गर्दा यस भेगका बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।’
सालझन्डीको झिमझिमेबाट झन्डै साढे ८ किलोमिटर कालोपत्र गर्ने गरी ठेक्का लागेको हो । २९ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले ह्युमपाइप बिछ्याउने, रिटेनिङ वाल, ग्याभिएन लगाउने, सडक चौडा गर्ने काम गरेको छ । उसले ४ करोड ३५ लाख ८१ हजार रुपैयाँसमेत भुक्तानी लिइसकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले बताए । उनका अनुसार सडक डिभिजन कार्यालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर ठेक्का लगाएको हो । ठेक्का लगाए पनि आईईई प्रतिवेदन स्वीकृत भएको थिएन ।
निर्माण व्यवसायीले सडक कालोपत्र र स्तरोन्नति गर्दा कटान गर्नुपर्ने रुख काट्न वन विभागले अनुमति नदिएकाले काम अघि बढाउन नसकेको जनाएको छ । देखिएका प्राविधिक त्रुटि सच्याएर सडक निर्माणको काम सुचारु गराउन स्थानीयले माग गर्दै आएका छन् । कालोपत्रे गर्ने ठेक्का पाएको महादेव–खिम्ती–अन्जना–प्राकृतिक जेभी रूपन्देहीले रुख कटानको अनुमति नपाएकाले काम अलपत्र परेको जनाएको छ । निर्माण व्यवसायी टोपबहादुर रायमाझीले वन विभाग, सडक विभाग र मन्त्रालयमा रुख कटानका लागि कागजपत्र मिलाउने काम अघि बढेको बताए । ‘रुख कटानको अनुमति लिन मंसिरदेखि विभाग र मन्त्रालय धाइरहेको छु,’ उनले भने, ‘तर, यो वा त्यो बहानामा काम अघि बढ्न सकेको छैन ।’ स्रोतका अनुसार वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० गर्नुपर्नेमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) मात्र गरेकाले वन विभागले रुख काट्ने अनुमति नदिएको हो । पाँच हेक्टर वन क्षेत्रभित्र प्रारम्भिक वातावरणीय परीक्षण गरे पुग्छ । तर, यहाँ ५ दशमलव ७ हेक्टर जंगल क्षेत्र पर्ने भएकाले समस्या आएको हो । प्रारम्भिक वातावरणीय परीक्षण गर्दा रुख गणनामा समेत समस्या देखिएको छ । विवरण फरक पारेर गणना गरेकाले अहिले कटानमा समस्या आएको हो । आईईई प्रतिवेदनमा झन्डै ४ सय ५० रुख कटान गर्नुपर्ने छ । तर, पछि गणना गर्दा ५ सय ५० बढी काट्नुपर्ने देखिएको हो ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत ठेक्का लगाएको थियो । ठेक्काको समयावधि गत साउनमा सकिएको छ । २०८० असार २२ सम्म म्याद थप भएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । ठेक्का सम्झौता अनुसार काम सुरु हुनासाथ वन विभागले काम रोकेपछि काम अघि बढेको छैन । जोगदमारदेखि जलुकेसम्म सडक सुचारु हुन नसक्दा स्थानीयले सास्ती खेपेका छन् । ‘मेरै ठेक्काको काम हुने हो वा होइन निश्चित छैन,’ निर्माण व्यवसायी रायमाझीले भने, ‘मैले लगानी गरेर सडकको पहिरो हटाउन सक्दिनँ ।’
स्थानीय कुलबहादुर कार्कीका अनुसार बल्ढेङगढीको जोगदमारदेखि जलुकेसम्मको झण्डै चार किलोमिटर सडकमा तीन वर्षदेखि यातायातका साधन चल्न सकेका छैनन् । सडकको सालझन्डीदेखि छहराको सुन्दरढुंगासम्म सडकमा कहीं पनि पुलपुलेसा राख्नु नपर्ने उनले बताए । पछिल्ला वर्ष ट्र्याक खुलेर पनि छोटो दूरीबाट सवारी साधन चल्न नसकेपछि १० किलोमिटर घुमाउरो सडक प्रयोग गरेर स्थानीय आवतजावत गर्नु परेको उनले बताए । ‘निर्माण व्यवसायीले पनि सडकका पहिरो सफा नगर्ने र स्थानीय तहले पनि बेवास्ता गर्दा समस्या आएको हो,’ उनले भने । यो सडक संघीय भौतिक पूर्वाधार विकास मन्त्रालयले काम सुरु गरेर लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । महेन्द्र लोकमार्गको सालझन्डीदेखि छहराको सुन्दरढुंगासम्म २९ किलोमिटर पर्छ । रैनादेवी छहराकै सत्यवती हुँदै आउने सडक ३४ किलोमिटर पर्छ । यो सडक कालोपत्र हुँदा पाल्पाको पश्चिम भेगका साथै गुल्मी, अर्घाखाँचीका केही भागका बासिन्दालाई तराई झर्न छोटो पर्छ । कान्तिपुरबाट