खोटाङ। मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभन्ज्याङ–सेखुवा सेक्टरमा कालोपत्रेका लागि प्रयोग गरिएका सामग्री गुणस्तरहीन भएको खुलेको छ ।
जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत टोलीको अनुगमनका क्रममा यसको खुलासा भएको हो ।
कालोपत्रेका लागि सब–बेसको सामग्री तथा ढलानका लागि प्रयोग गरिएको बालुवामा माटो मिसिएको पाइएको जिसस प्रमुख राईले बताए । ‘सब–बेस, कजवे निर्माणमा स्ट्यान्डर्ड विपरीतको बालुवा प्रयोग गरिरहेको भेटियो,’ उनले भने, ‘गुणस्तरहीन निर्माण सामग्री हटाउन र माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको संरचना भत्काएर फेरि गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिएका छौं ।’ उक्त निर्माण कम्पनीलाई गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न कागजसमेत गराइएको जिसस प्रमुख राईले जनाए ।
उक्त सेक्टर (दस किलोमिटर) को ठेक्का भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले लिएको हो । करिब ३२ करोड रुपैयाँको लागतमा २०७५ फागुन ३० सम्ममा सक्ने गरी २०७२ चैत २ मा सम्झौता गरेको थियो । तर निर्माण अवधिमा काम नसकिएपछि पटकपटक म्याद थप्दै आएको छ ।
उक्त निर्माण कम्पनीले २०७७ पुस १३ पहिलो पटक, २०७८ असार १३ मा दोस्रो र २०७८ फागुन ३० सम्मको तेस्रो पटक म्याद थप गरेको हो । तर काम भने ४० प्रतिशत (भौतिक) र ३४ दशमलव ४ प्रतिशत (वित्तीय) प्रगति देखिएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर दिपेश मुनाकर्मीले बताए । नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनअनुसार उक्त आयोजनाको म्याद आगामी असारसम्म थप भएको छ । तर निर्माण कम्पनीको बेवास्ता र ढिलासुस्तीले थप गरिएको म्यादभित्र पनि सडक कालोपत्रेको काम सम्पन्न हुने स्थिति नदेखिएको राईको भनाइ छ । ढिलासुस्ती भएपछि मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि मंसिर–१८ मा सडक विभागसमक्ष सिफारिस गरेपछि सम्बद्ध कम्पनीले चैत पहिलो साताबाट डीबीएसटीको काम सुरु गर्ने र वैशाखसम्ममा डीबीएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । तर त्यसअनुसार काम नगरेको समन्वय प्रमुख राईले सुनाए ।
उक्त सडकको काम अलपत्र पारेपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय, धुलिखेलले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेको थियो । योजना कार्यालयले ठेक्का तोड्न सिफारिस गरेको केही समयपछि मैनाचुली निर्माण सेवा कम्पनीका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम आगामी असारभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । कान्तिपुरबाट