काठमाडौं। निर्माण सम्पन्न नहुँदै चर्किएको पक्की पुलको पुनर्निर्माण थालिएको छ । जुम्ला–कालिकोट जोड्ने सिंजाखोला पक्की पुल निर्माण नसकिँदै चर्किएको थियो । गत वर्ष असार पहिलो सातातिर पुलको अन्तिम निर्माणकार्य चलिरहँदा पुल एक्कासि चर्किएपछि काम रोकिएको थियो । पुल चर्किएको केही महिनामै पुनर्निर्माण थालिने भने पनि ठेकेदारले फागुन महिनादेखि पुनर्निर्माणको काम अघि बढाएको छ ।
पक्की पुलबाट यात्रा गर्न उत्साहित भएका नागरिक पुल निर्माण नसकिँदै चर्किंदा निरास भएका छन् । २०६१।०६२ सालबाट सञ्चालित जीर्ण बेलिब्रिजबाटै ठूलासाना सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । कतिबेला दुर्घटना हुने हो भन्न सकिने अवस्था छैन । चाँडै पुल बन्ला र सुरक्षित यात्रा गरौंला भन्ने आशामा बसेका स्थानीय निर्माण नसकिँदै पुल चर्किएको करिब नौ महिनापछि पुनर्निर्माणमा सुरु हुँदा कहिले सम्पन्न होला र गाडी गुड्लान भन्दै दिन गनिरहेका छन् ।
यस वर्षको असार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भए पनि पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माण रोकिएको पुलको पुनर्निर्माण थालिएको सडक डिभिजन सुर्खेतले जनाएको छ । यो पुल उच्च प्रविधियुक्त अर्थात् ९प्रि–स्ट्रेस० प्रविधिको कर्णालीकै दोस्रो पुल हो । कमसल सामग्रीको प्रयोग नभई फाइनल स्ट्रेसिङ अर्थात् (लडा तान्दा) समस्या आएको हो । हाइअल्टिच्युडमा पहिलो पटक फरक टेक्नोलोजीको पुल बनाउँदा समस्या देखियो पुल निर्माण कम्पन्नीको तर्क छ ।
यद्यपि निर्माण कम्पनीले उही लागतमा पुनः पुल निर्माण गरी सम्पन्न गर्नुपर्ने छ । विगत साढे ६ वर्षदेखि निर्माण थालिएको उक्त पुल यो वर्षको असारमै सकिने गरी म्याद थपिएको थियो । तर पुल नै चर्किएपछि निर्माणको कामसमेत अनिश्चित बनेको पुलको पुनर्निर्माणका लागि भत्काउनै लामो समय लाग्ने देखिएको छ । अब पुललाई ग्राउटिङ गरेर पुन पिस्ट्रेसिङ गरिने भएको छ । विगत तीन सातादेखि ढलान उक्काउने काम जारी रहे पनि सकिएको छैन ।
प्रिस्ट्रेस गर्दा पुल निर्माण तथा पुनर्निर्माण, फेरि ग्राउटिङ गर्न नेपालमा उपकरण र जनशक्ति छैनन् । भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्रै काम अघि बढ्ने बताइएको छ । साउन पहिलो सातामै भारतबाट विज्ञको टोली आएर पुनर्निर्माण गरी दसैंमा पुल सञ्चालनमा ल्याउने भनिए पनि भर्खर काम सुरु भएको छ । अहिलेसम्म उक्त पुलको तीन पटक म्याद थपिसकिएको छ । तर निर्माण कम्पनीको ढिलासुस्ती र कोभिडले निर्माण भएन भने सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ ।
यो पुल ५० टन लोड क्षमताको छ । विगत लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै पुल चर्किनु पुनर्निर्माणसमेत धेरै ढिला हुनु विडम्बना नै रहेको स्थानीय अगुवा बताउँछन् । कमसल सामग्री प्रयोग गरेका कारण पुल बीचमै भत्किन थालेको स्थानीयको आशंका छ । नयाँ प्रविधिको पुल त्यसैमाथि सम्पन्न हुने बेलामै पुल चर्कियो ।
उक्त पुल निर्माणका साइट इन्जिनियर अशोक चौधरी भन्छन्, “प्रिस्ट्रेस पुल भएकोले निर्माण गर्न आफैमा जोखिम हो । पुल निर्माण सकिँदै गर्दा लडा तान्दा पुल चर्किएको हो । गाडी गुड्ने माथिको पार्टको पुरै ढलान फुटाएर नयाँ ढलान हाली पुनः लडा तानेपछि सफल भएपछि मात्रै ठेकेदारले भुक्तानी पाउने छ ।” पुलका पिल्लरमा कुनै समस्या छैन ।
गाडी गुड्ने पुलको माथिल्लो भागमै समस्या रहेकोले ४० मिटर लामो पक्की पुलको पूरै ढलान फुटाउनु परेको इन्जिनियर चौधरीले बताए । स्टिमेटअनुसार ठेकेदारले काम नसकाएसम्म कुनै पनि भुक्तानी नहुने र पुनर्निर्माणको सबै काम ठेकेदारले आफ्नो खर्चमा गर्नु पर्नेछ । आउने असारसम्म पुनर्निर्माणको कामलाई सकाउने लक्ष्यअनुसार जनशक्ति परिचालन भइरहेको छ । सूर्य कन्ट्रक्सन प्रालि सुर्खेतले अब आफ्नै निजी खर्चमा पुल निर्माण गर्नेछ । कारोबार दैनिकबाट