तस्बिर: गाेरखापत्र
दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–६ मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न सुरु गरिएको छ। सङ्ग्रहालय निर्माणको पहिलो चरणमा गुम्बा र पद्मसम्भव (लामा भाषामा घुरु रेम्बोचे)को मूर्ति निर्माण गर्न थालिएको हो।
सङ्ग्रहालय तथा पार्कसमेतको विस्तृत परियोजना प्रतिवेदन तयार भइ पहिलो चरणको काम सुरु भएको यस संग्रहालयका लागि बागमती प्रदेशको १५ लाख र नगरपालिकाको १५ लाख लागत रहेको छ।
यहाँ पोखरीसहितको १४ फिटे पिल्लरमा १६ फिट अग्लो मूर्ति निर्माण हुनेछ। पिल्लरका चारैतिर कमलको फूल अङ्कित गरिनेछ। मूर्तिको पछिल्लो भागमा विभिन्न मन्त्र राखिनेछन्।
दोलखामा रहेका १२ आदिवासी जातिको संस्कार, संस्कृति झल्कने किसिमको सङ्ग्रहालय एकै स्थानमा निर्माण गर्न लागिएको छ। दोलखा उद्गम थलो भएका थामी, जिरेल, सुरेल र तामाङ, शेर्पा, श्रेष्ठ, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर, कुमाल गरी कुल १२ आदिवासी जनजातिको यहाँ बसोबास छ। ती समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, वेशभूषालगायतको अस्तित्व जोगाउन यो सङ्ग्रहादष् निर्माण हुन लागेको हो।
यहाँ आदिवासी जनजातिका पुरातात्त्विक महत्त्व झल्कने किसिमका १२ वटै भवन निर्माण भएपछि यसमा साङ्केतित वस्तु राखिने र बृहत् हेर्न चाहनेलाई तत्–तत् स्थानमा गएर अवलोकन गर्न आग्रहको लेखन लेखिने बताइएको छ।