जनकपुरधाम। जनकपुरधामस्थित मणि मण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना समयावधि सकिए पनि काम भने सम्पन्न हुन सकेको छैन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ रानी बजारस्थित सघन सहरी कार्यक्रम अन्तर्गत मणि मण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा काम सम्पन्न हुन नसकेको हो ।
सङ्घीय सरकारले करौडौं रुपियाँको लगानीमा थालेको बहुप्रतिष्ठित सीता पुष्पवाटिका मणि मण्डपमा पूर्वाधार एवं अन्य निर्माण कार्ययोजना तीन वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि पाँच वर्ष बित्न लाग्दा पनि काम भने सम्पन्न हुन सकेको छैन । उक्त योजना अन्तर्गत मणि मण्डप परिसरभित्र दुईतले जनक दरबार, एउटा धर्मशाला, एउटा प्यालेस, स्वयंवर मण्डप, मन्दिर, पसललगायत भौतिक संरचनाहरु छन् ।
२०७५ साल मङ्सिर २४ गते काठमाडौंको रबिना कन्स्ट्रक्सन कम्पनी लिमिटेडले भ्याटबाहेक १८ करोड १५ लाख २२ हजार ७९३ रुपियाँको लागतमा २०७८ साल जेठ २३ गते काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर समायावधि सकिएको २० महिना बित्दा पनि काम भने सम्पन्न हुन सकेको छैन ।
मणि मण्डप परिसरको चार बिघा १६ धुर क्षेत्रफलमा निर्माण भइरहेको सो संरचनाको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ भने बाँकी ३० प्रतिशत काम भने चालु आर्थिक वर्षको मसान्तमा सम्पन्न गर्ने भनेर म्याद थपको लागि निर्माण कम्पनीले निवेदन पेस गरेको हुँदा म्याद थपका लागि प्रक्रिया अघि बढाइएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषाका इन्जिनियर मनोजकुमार मण्डलले बताउनुभयो । म्यादभित्र काम सम्पन्न नगर्दा यसअघि पनि पटकपटक म्याद थपिँदै आएको सो कार्यालयले जनाएको छ । अहिलेसम्म प्लास्टर, खानेपानी, बिजुली बत्तीको कार्य सम्पन्न भई बुट्टा भर्ने कार्य चलिरहेको इन्जिनियर मण्डलले फिनिसिङ् र ल्याण्डस्क्यापिङ् (भूनिर्माण) कार्य बाँकी रहेको बताउनुभयो ।
इन्जिनियर मण्डलका अनुसार निर्माणाधीन जनक दरबारमा कुँदिने बुट्टा मुगल शैलीको हुँदा उक्त बुट्टाका लागि नेपालमा कालिगढको अभाव भएका कारण भारतस्थित राजस्थानबाट कालिगढ बोलाएर काम गराउनुपर्ने हुँदा पनि केही ढिलो भएको हो । उहाँले ढिला हुनुमा विभिन्न कारण देखाउँदै यस्तो भन्नुभयो, ‘सम्झौताभएपछिको ११ महिनासम्म जग्गाको विषयमा स्थानीयसँगको विवादमा बित्यो, त्यसपछि कोभिड १९ को महामारी र पर्यावरण अभियन्ता दिलीप महतोको हत्या हुँदा क्रसरविरुद्ध आन्दोलनका कारण समयमा काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीले कारण देखाई म्याद थप गरेको छ । तर कति पटक म्याद थप भएको भन्ने सम्बन्धित कार्यालयका कर्मचारीले बताउन सक्नुभएन ।
यता, स्थानीयले सो योजनामा आफुहरुसँग कुनै विवाद नभएको बताउनु भएको छ । निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा स्थानीयमाथि आरोप लागाएको हो । बरु निर्माणस्थलमा घर टहरा भएका बासिन्दाले सीता र राम भगवानको कुरा आउँदा सहमतिमा उक्त स्थान सहजै छोडेको वडा नं। १३ का अध्यक्ष जीतबहादुर राउतले बताउनुभयो ।
त्रेता गमा राम र सीताको विवाह भएको स्थान मणिमण्डपको अवस्था अझै सुधार नहुँदा पर्यटकहरुको आवगमनमा वृद्धि हुन सकेको छैन । उक्त योजनाले मणि मण्डपलाई पर्यटकीय गन्तव्य बनाउन ठूलो मद्दत पुग्ने छ । तर योजना समयमा सम्पन्न नहुँदा निराशा छाएको मणिमण्डपका पुजारी नवल दासले भन्नुभयो ।
विवाहस्थल मणि मण्डपलाई विकास गर्न नसकिएकोप्रति मन्दिरका पुजारी नवल दासले भन्नुभयो, ‘बेला बखत भारतीय पर्यटकहरु आगमन हुन्छ, नत्र भने अन्य पर्यटकको आगमन यहाँ हुँदैन । कतिपयलाई यस स्थानको बारेमा जानकारी नै छैन । जानकी मन्दिरको छेउमा बनाइएको विवाह मण्डपको छायामा वास्तविक विवाह मणि मण्डप परेको कारण यहाँको विकासमा खासै ध्यान नदिएको पुजारीको कथन छ । लामो समयको अन्तरालमा मणि मण्डपमा निर्माण हुन थालेको जनक दरबार र धर्मशाला निर्माणमा भएको ढिलासुस्तीप्रति सम्बन्धित निकायको ध्यनाकर्षण हुन जरुरी भएको पुजारीले बताउनुभयो ।
वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना समयमा सम्पन्न हुँदा स्थानीय स्तरमा विकास हुनुका साथै व्यापार व्यवयास पनि फस्टाउने अपेक्षा स्थानीयमा थियो । तर समयमा योजना सम्पन्न नहुँदा स्थानीयवासीमा निराशा देखिएको छ । गोरखापत्रबाट