चितवन । सफारी पर्यटनमा चिरपरिचित चितवनमा अब प्याराग्लाइडिङ उडान हुने भएको छ । हवाई साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ आगामी बैशाख १ गतेबाट सुरु गर्ने गरी तयारी अगाडि बढाइएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडा र कविलासबाट प्याराग्लाइडिङ उडानको सफल परीक्षण भैसकेको छ ।
बैशाखबाट व्यावसायिक उडान गर्ने गरी हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले पर्यटन विभागबाट अनुमति लिइसकेको छ । चौकीडाँडामा रिसोर्ट र प्याराग्लाडिङ्गका लागि ७० करोड खर्च लाग्ने अनुमान छ ।
कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जंगल सफारी पर्यटनको साथसाथै अब साहसिक पर्यटनको अर्को ‘आइटम’का रुपमा रहेको प्याराग्लाइडिङ थप हुने बताए । चितवनमा प्याराग्लाइडिङ गर्न अनुमति पाउने यो पहिलो कम्पनी हो ।
प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विगाहा जग्गा कम्पनीले लिइसकेको छ । मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुगिन्छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ भने कविलास ५८० मिटरको उचाइमा छ ।
कम्पनीले प्याराग्लाइडिङका लागि १.८५ नटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । ‘सिधै माथि ५ हजार मिटरसम्म जान पाइनेछ । फटाफट उडेर त्रिशूलीमा झर्दा चौकीडाँडाबाट २० मिनेट लाग्नेछ,’ उनले भने । तत्काललाई १० वटा पाइलट राखेर उडान गरिने उनले जानकारी दिए । त्यसका लागि आवश्यक भौतिक पूर्वाधारको काम भैरहेको छ ।
प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गराउने योजना छ । त्यहाँ २० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिइएको छ । अवतरण हुने ठाउँमा त्रिशूली नदीमा वाटर एक्टिभिटिज गराउने, र्याफ्टिङ्ग, डेजर्ट सफारी जस्ता क्रियाकलाप गर्ने योजना कम्पनीले बनाएको बोर्ड डाइरेक्टर शालिक दवाडीले जानकारी दिए ।