ढल्केवर। नदी कटानबाट बस्ती र खेतीयोग्य उर्वरभूमि जोगाउन धनुषाको मिथिला नगरपालिका –११, तुलसीस्थित विभिन्न नदीमा तटबन्ध निर्माणको काम थालिएको छ । नदी कटानको उच्च जोखिममा रहेको केरुङ, चिपुवा र लोटाहा खोलामा तटबन्ध निर्माण थालिएको हो ।
चुरे भएर दक्षिण बग्ने यी खहरे खोलाले हरेक वर्षातका बेला तुलसीस्थित विभिन्न स्थानको खेतीयोग्य जमिन कटान गरेर क्षति गर्दैआएको छ । स्थानीयवासी प्रेमबहादुर कार्कीले सबैभन्दा बढी कालीखोला बस्तीमा धेरै क्षति पुगेको बताए । उनका अनुसार चुरेबाट बगरे आउने केरुङ खोलाले कालीखोला बस्तीको सात बिघाभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको छ ।
नदी कटानकै कारण सो बस्तीका कतिपय मानिस सुरक्षित स्थानमा वासस्थान सरेका छन् । चुरेबाट बगेर आउने गिट्टी बालुवाले केरुङ खोलाको सतह माथि उठ्दै गएर बस्ती बराबर भएकाले त्यो ठाउँमा तटबन्ध आवश्यक थियो ।
कालीखोला बस्तीवासी पनि तटबन्ध निर्माण सुरु गरिएसँगै बस्ती र उर्वर खेतबारी जोगिने भन्दै खुसी देखिएको कार्कीले सुनाए । राष्ट्रपति चुरे तराई संरक्षण समिति एकाइ कार्यालय जनकपुरधामले तुलसीस्थित केरुङ, चिपुवा र लोटाहा खोलामा तटबन्ध निर्माण थालेको छ ।
एकाइ कार्यालय जनकपुरधामका प्रमुख शिवकुमार पोखरेलले केरुङ खोलामा ९० र चेपुवा र लोटाहा खोलामा १२० मिटर लम्बाई र दुई मिटर उचाइको तटबन्ध निर्माण गर्न लागेको बताए। खहरे खोला नियन्त्रण योजनाअन्तर्गत तटबन्ध निर्माण भइरहेको उनले जानकारी दिए ।
तटबन्ध निर्माणले चुरेको माथिल्लो क्षेत्रबाट बगेर आउने पानीको बहाव रोक्ने, माटो र बालुवा लगायतका नदीजन्य पदार्थलाई चुरेमै रोकेर राख्ने हुँदा बस्ती र खेतीयोग्य जमिन कटान हुनबाट जोगिने एकाइ कार्यालयका प्रमुख पोखरेलको भनाइ छ ।
नदी कटानबाट प्रभावित भएका नागरिक तटबन्ध निर्माण हुन थालेपछि उत्साहित भएको बताएका छन् । निर्माण हुन लागेको तटबन्धले सयौँ किसानको जमिन कटान रोकिने र दर्जनौँ घर डुबानबाट सुरक्षित हुने तुलसीस्थित बाहुनमाराका स्थानीय विजयकुमार कार्कीले बताए। गोरखापत्रबाट