काठमाडौं। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले तीन निर्माण कम्पनीसँग ठेक्का तोडेको छ। तीनवटा पुल निर्माण जिम्मा लिएर सम्झौताअनुसार काम नगर्ने तीन निर्माण कम्पनीसँग कार्यालयले ठेक्का तोडेको हो।
कार्यालयले आज (सोमबार) सूचना जारी गर्दै पुल निर्माणको काम अलपत्र पार्ने स्काई वाइबा एण्ड लामा र माँ जानकी जेभीसँग ठेक्का तोडिएको जनाएको हो।
उक्त डिभिजनअन्तर्गत सुनसरी जिल्लाको दत्तकिक्षा खोलामा पुलको काम ठेक्का लिएर लिएर निर्माण कम्पनीले वर्षौदेखि अघि बढाएका थिएनन्। उक्त जेभी कम्पनी र यस सडक डिभिजन बिराटनगरबीच २०७५ मा ठेक्का सम्झौता भई मिति २०७७ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो।
उक्त समयमा निर्माण कम्पनीले उक्त पुलको काम सम्पन्न गर्न नसकेपछि दुई पटक म्याद थप गरिएको थियो। थपिएको म्याद समेत २०७८ चैतमा समाप्त भइसकेको कार्यालयले जनाएको छ।
यस्तै अर्को मोरङमा पनि यही जेभीले मल्टी सेल आरसीसी पुल निर्माण अलपत्र पारेको कार्यलयले जनाएको छ। यो पुल निर्माणको लागि पनि २०७५ मा सम्झौता भई २०७७ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो। त्यसपछि दुई पटक म्याद थप गरिएको र थपिएको म्याद समेत २०७८ चैतमा समाप्त भइसकेको छ।
यसैगरी मोरङमै अर्को एउटा पुल पनि जेभीले अलपत्र पारेको छ। कम्पनीलाई पटक–पटक म्याद थप गर्दा पनि अहिलेसम्म निर्माण कार्य पुरा नगरेकाले ठेक्का तोडिएको कार्यालयले जनाएको छ।
निर्माण व्यवसायीलाई लिखित–मौखिक अनुरोध पटक–पटक गर्दा पनि ठेक्का सम्झौताका सर्तबमोजिम काम नगरेका कारण सार्वजनिक खरिद ऐन अनुसार ठेक्का तोडिएको कार्यालयको सूचनामा छ।
साथै सार्वजनिक खरिद ऐनबमोजिम भुक्तानी हुन बाँकी स्वीकार्य रुपमा सम्पन्न भइसकेका कुनै कार्य भएमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा सडक डिभिजनमा सम्पर्क राखी वित्तीय फरफारक गर्न गर्नुपर्ने कार्यालयले जनाएको छ।