काठमाडौं। गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।
पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको बाक्लै आवतजावत हुन्छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन यहाँ विभिन्न पूर्वाधार थप हुनेक्रम जारी छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित यहाँ सिसाको पुल निर्माण गरिने भएको छ ।
बन्दीपुरमा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी बन्दीपुर स्काइवाक एण्ड बञ्जीजम्पले यहाँ सिसाको पुल निर्माण गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यसहित पूर्वाधार निर्माणमा जुटेको कम्पनीले जनाएको छ। सोहीबमोजिम केबलकार परियोजना निर्माणाधीन छ, अब सिसाको पुल निर्माणको काम सुरु गर्ने तयारीमा भईरहेको छ।
सिसाको पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम थालनी भएको छ । सिसाको पुल निर्माणका लागि करिब रु एक अर्ब बजेट लाग्ने अनुमान छ । डिपिआर तयार भएपछि बजेटको टुङ्गो लाग्ने बताईएको छ। सिसाको पुल बन्दीपुरको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।
बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माण भइरहेको केबलकारको होटलसहितको माथिल्लो स्टेशनको नजिकै सिसाको पुल बनाउने योजना छ । सत्र तले पाँचतारे होटल नजिकको जङ्गलमाथि सिसाको पुल बनाउने लक्ष्य हो, सिसाको पुल समुन्द्र सतहबाट तीन सय मिटरमाथि निर्माण हुनेछ, त्यहाँबाट भिरमाथि हिँडेको अनुभव लिन सकिनेछ बताइएको छ।
।