गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय समातेको बताएका छन्। प्रधानमन्त्री दाहालले मंगलबार गोरखाको पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै पुरानै गठबन्धन कायम भएको बताएका हुन्।
‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, राजनीतिले लय पक्रिएको छ,’ उनले भने, ‘सदनमा भएका ११ दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ । मंगलबार बिहानदेखि नेपाली कांग्रेस र अन्य पार्टीसँग गम्भीर संवाद छलफल शुरु भएको छ ।’ सोमबार आफूले विश्वासको मत पाएँ सरकार पुनर्गठनबारे दलहरुसँग छलफल शुरु भएको उनले बताए।
संघदेखि प्रदेश सरकार पुनर्गठन र आलोपालोका विषयमा दलहरुसँग छलफल शुरु भएको उनको भनाइ छ । अब निर्वाचन पूर्व जनतामा गरिएका प्रतिवद्धताअनुसार काम हुने उनले बताए । सत्ता साझेदार सबै दल र साझेदार निकायबीच छिट्टै छलफल गरि विकासको मोडालिटी तय गरेर काम अगाडि बढाउने प्रधानमन्त्रीको भनाइ छ ।
सडक विकासको पहिलो आधारशिला भएको भन्दै उनले देशभरका रणनैतिक सडक प्राथमिकताका साथ स्तरोन्नति गर्ने सरकारको योजना रहेको बताए। कार्यक्रममा उपप्रधान तथा भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावनाअनुसार काम गर्न सरकार प्रतिबद्ध भएको बताए।
‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो,’ उनले भने, ‘अब सरकारले दृढताका साथ विकास निर्माणका काम अघि बढाउँछ ।’
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सडकले यस क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। पूर्व प्रधानमन्त्री भट्टराईले गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडकले जनताको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
‘मेरा लागि सबैभन्दा खुशीको क्षण हो । म आफैँ अर्थमन्त्री हुँदा यो बाटो स्तरोन्नतिको कार्य शुरु गरेको थिएँ,’ उनले भने,‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’
यही क्षेत्रका जनप्रतिनिधि समेत रहनुभएका प्रधानमन्त्री दाहालले सडक शिलान्यास गराउन पाउँदा खुशी लागेको बताए। भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा २० किलोमिटर सडक कालोपत्र गर्न लागिएको सडक विभागका महानिर्देशक सुशील ढकालले जानकारी दिए।
त्यसको लागि ८१ करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाइ छ । गोरखाको पालुङटार १ को पन्थडिहीबाट लम्जुङको साहिलटारसम्म सडक कालोपत्रे हुने विभागले जनाएको छ ।