मोरङ। भारतको जोगबनीबाट विराटनगर प्रवेश गर्ने रानी नाकामा आकाशेपुल तथा स्वागतद्वार निर्माणको समयावधि सकिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार शिलान्यास गरेका छन् ।
प्रदेश सरकार, विराटनगर महानगर र उद्योग संगठनको संयुक्त लगानीमा निर्माणका लागि महानगरले डिजाइन र इस्टिमेट गरेपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले आव २०७६।७७ मा नै ठेक्का प्रक्रिया पूरा गरे पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको थिएन । ७ करोड ७६ लाख ८ हजारको लागत इस्टिमेट रहेको उक्त योजना ६ करोड २५ लाख २४ हजारमा निर्माणका लागि ह्याबिटेटरआशिषदीप जेभी भद्रपुर झापाले २०७७ जेठ २७ मा सम्झौता गरेको थियो ।
प्रदेश सरकारको ७०, महानगरको २५ र उद्योग संगठनको ५ प्रतिशत लागत साझेदारी रहेको उक्त योजनाको स्वामित्व कसले लिने भन्ने विवादले ठेक्का लागे पनि हालसम्म निर्माण सुरु हुन नसकेको उक्त मन्त्रालयले जनाएको छ । उक्त आयोजनामा ठेक्केदारले दिने कमिसनको भागबण्डा पनि नमिलेकाले निर्माण कार्य सुरु हुन ढिलाइ भएको मन्त्रालय स्रोतले जनाएको छ ।
निर्माण कम्पनी मुख्यमन्त्री कार्कीको गृहजिल्लाको भएकाले पछिल्लो समय सबै विवादको समाधान गरेर निर्माण कार्य सुरु गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । कोशी प्रदेश झल्किने स्वागतद्वार तथा आकाशेपुल निर्माण हुने सम्बद्ध मन्त्रालयका सचिव मोहनराज चापागाईंले बताए । उनले निर्माण कम्पनीलाई २०७९ फाल्गुन २६ मा पुनः कार्यादेश दिएर २०८१ फागुन २५ भित्र निर्माण कार्य पूरा गर्न समय सीमा दिइएको सुनाए ।
मुख्यमन्त्री कार्कीले स्वामित्वलगायत प्राविधिक कारणले ठेक्का लागेर पनि हालसम्म रोकिएको योजना ढिलै भए पनि सुरु भएकाले अबको दुई वर्षभित्र कार्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । उनले प्रदेश सरकारको प्रत्येक योजनाले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापनमा योगदान पुर्याउने हुनुपर्ने बताए । कान्तिपुरबाट