काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालबाट निर्यात हुने महत्वपूर्ण वस्तुनै जलविद्युत भएको बताएका छन्। राष्ट्रपति निवासमा बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का पदाधिकारीहरुसँगको भेटमा राष्ट्रपति पौडेलले
नेपाललाई समृद्धि गर्ने मुख्य आधार जलविद्युत रहेको बताएका हुन्।
उनले भने, ‘देशको समृद्ध गर्ने काम जलविद्युत क्षेत्रकै हो, नेपालबाट निर्यात गर्ने महत्वपूर्ण वस्तुनै जलविद्युत हो । जलविद्युतको निर्यात गर्नुपर्छ, जलविद्युतको महत्वबारे मैले बुझेको छु, कहाँ कस्तो सहयोग र सहजीकरण गर्नुपर्छ, भन्नुस, म तयार छु।’
भेटमा इप्पान अध्यक्ष कृष्ण आचार्यले पूर्व उपप्रधानमन्त्री स्वर्गीय शैलजा आचार्यले जलविद्युतमा निजी क्षेत्रलाई ढोका खुलेको कारण आज देशमा उज्यालो भएको बताएका। अध्यक्ष आचार्यले विद्युत उत्पादनसँगै अब व्यापार गर्न चाहेकोले यसको लागि वातावरणका लागि मिलाइदिन अनुरोध समेत गरेका छन्।
उनले चालु वर्षभित्र ३ हजार मेगावाट उत्पादन क्षमता पुग्ने तथा १ हजारदेखि १२ सय मेगावाटसम्म बिजुली खेर जाने अवस्था रहेकोले यसलाई मध्यनजर राखेर संसदबाट तुरुन्तै विद्युत विद्येयक पारित हुन नसकेमा अध्यादेशबाट ल्याउनुपर्ने हुन सक्नेतर्फ पनि संकेत गरे।
भेटमा इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई, उपाध्यक्ष गणेश कार्की, अर्का उपाध्यक्ष डाँगी, कार्यवाहक महासचिव बलराम खतिवडा, सचिवद्धय भरत खत्री र राम आचार्य, कोषाध्यक्ष आनन्द चौधरी तथा सदस्यहरु प्रकाश दुलाल, उत्तम ब्लोन, अभिज्ञा मल्ल, विक्रम विष्ट लगायत सहभागी थिए ।