सल्यान। जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रास्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७६।०७७ मा सञ्चालन गरिएको भवन बजेट अभावमा अलपत्र परेको हो ।
कर्णाली प्रदेशको २५ लाख रुपैयाँ बजेटमा जिज्ञासु वीसी निर्माण सेवाले काम गरेको र असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण ठेकेदार कम्पनीले तोकेको समयमा काम सम्पन्न गर्न नसकेपछि फिर्ता भएको बजेट पुनः नआउँदा निर्माणाधीन अवस्थामै अलपत्र परेको विद्यालयका प्रधानाध्यापक हिक्मत रोकाले बताए । भवनको अहिलेसम्म योजनाको ६० प्रतिशतजति काम सम्पन्न भएको उनले जानकारी गराए ।
उनका अनुसार प्रदेशको २५ लाख बजेटमा गाउँपालिकाले टेन्डर गरेर सञ्चालन गरेको थियो । जिज्ञासु वीसी निर्माण सेवाले समयमै काम सम्पन्न गर्न नसक्दा ९ लाखमात्र भुक्तानी पाएको थियो । अन्य रकम फिर्ता गएको थियो । तीन वर्षदेखि अलपत्र परेको भवन अहिले गाउँपालिकाले मर्मतका लागि भनेर ३ लाख विनियोजन गरेको उनको भनाइ छ ।
भवन निर्माण कार्य अलपत्र परेपछि कक्षाकोठाको अभावमा अहिले ६, ७, ११ र १२ गरी चार कक्षाका बालबालिका उक्त झ्यालढोका, रेलिङविहीन भवनमा जोखिम उठाई बसेर पढ्न बाध्य भएका शिक्षक कुलबहादुर यरीले बताए । अहिले परीक्षा पनि त्यही अधुँरो भवनको कोठामा बसेर दिइरहेको उनले जानकारी गराए । ‘झ्याल–ढोका केही नभएकाले वर्षात्को समयमा परेको पानी सिधै कक्षाकोठामा जाने गरेको छ । हुरी चलेमा कोठामा बस्न मिल्दैन । कापी, किताब उडाउनेजस्तो गर्छ,’ उनले भने, ‘पानी परेमा तथा हुरी चलेमा विद्यार्थीको पठनपाठन, परीक्षा दुवै प्रभावित हुने गरेको छ ।’ रेलिङ नभएकाले विद्यार्थी कक्षाकोठा आउजाउ गर्दा लड्ने सम्भावना बढी रहेको उनको भनाइ छ ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले प्रदेशले फिर्ता गएको बजेट पुनः नपठाएकै कारण भवन निर्माणको कामलाई निन्तरता दिन नसकेको बताएका छन् । तीन वर्षदेखि रोकिएपछि बालबालिकालाई पढ्नका लागि केही राहत होस् भनेर उक्त भवन मर्मत गर्न पालिकाले यो वर्ष ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । पालिकाले विनियोजन गरेको बजेटबाटै पुनर्निर्माण गर्न नसके पनि मर्मत तथा झ्यालढोका हालेर सहज रुपमा बसेर पढ्न मिल्ने गराउने उनले दाबी गरे । कान्तिपुरबाट