काठमाडौं। चक्रपथ कोटेश्वर–कलंकी खण्डको कलंकीदेखि सानेपासम्म बायाँतर्फको सर्भिस लेन भत्काइएको छ । सडक बनेको पाँच वर्षमै सतह (बेस लेयर) बिग्रिएपछि मर्मतका लागि भत्काइएको हो ।
कलंकी भाटभटेनीदेखि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसम्मको १ किलोमिटर सडकको कालोपत्रे अहिले उप्काइएको छ । यो सर्भिस लेन भासिने, कालोपत्रे उप्किने र चर्किने भएपछि सडक विभागले पुनर्निर्माण गर्न लागेको हो । विश्व बैंकसँगको सहकार्यमा अध्ययन गरी पुनर्निर्माण थालिएको काठमाडौं सडक डिभिजनले जनाएको छ ।
सर्भिस लेनमा भासिने समस्या देखिपछि सडक विभागले त्यसको कारण पत्ता लगाउन अध्ययन गरेको थियो । त्यसक्रममा बेस फेलियर देखिएको हो । विश्व बैंक, सडक विभाग र काठमाडौं सडक डिभिजनले गरेको संयुक्त अध्ययनले बेस फेलियर भएको तथ्य पत्ता लागेपछि बेस नै परिवर्तन गर्नेगरी कालोपत्रेको तयारी गरिएको छ । नयाँ सडकको आवधिक मर्मत ५ वर्षमा गरिन्छ तर सो खण्ड त्यसअघि नै सतहबाट नै पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको छ ।
सडक डिभिजन काठमाडौंका सिडिई नारायणप्रसाद निहुरेले आवधिक सडक मर्मतअन्तर्गत नै सो सडक खण्डको मर्मत गर्न लागिएको बताए । उनले भने, “सतहमा प्राविधिक समस्या देखिएको छ । विभाग र विश्व बैंकले गरेको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न सर्भिस लेनको पुनर्निर्माण गर्न लागिएको हो । करिब १ महिनामा सो सडक खण्डको मर्मत पूरा हुनेछ ।” अध्ययनले नेपाल सरकारले बनाएको सो सडक खण्डमा बेस लेयर नै परिर्वतन गर्न सुझाएको थियो ।
विश्व बैंकको ऋण सहयोगमा ३७ करोड रुपैयाँको लागतमा बल्र्डवाइड पीआर एसके कन्स्ट्रक्सनले उक्त सडक खण्ड पुनर्निर्माण गर्न लागेको हो । कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले २०७४ माघ १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । १०.४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले गरेको थियो । आठ लेन सडकभन्दा बाहिर दुबैतर्फ एकरएक लेनको सर्भिस ट्रयाक भने नेपाल सरकारले निर्माण गरेको हो ।
चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्रयाकसमेत गर्दा यो सडक १० लेनको हो । सरकारले २०७० भदौ १६ गते २०७३ पुस मसान्तसम्म निर्माण सक्ने गरी चिनियाँ कम्पनीलाई कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा दिएको थियो । चीन सरकारको ५ अर्ब अनुदान सहयोगमा कोटेश्वर–कलंकी सडक ८ लेन निर्माण भएको हो ।
सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । पुरानो सडक साँघुरो र जीर्ण भएपछि पुनः चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको थियो ।
चीनको सरकारी कम्पनी संंघाई कन्स्ट्रक्सन ग्रुपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो । चीनले चक्रपथको दोस्रो (कलंकी–महाराजगञ्ज) खण्डको विस्तार पनि अगाडि बढाएको छ भने नेपाल सरकारले पनि सर्भिस लेन निर्माणको काम गरिरहेको छ । कारोबार दैनिकबाट