काठमाडौं। जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ।
काम सुरु गरेको ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धुलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ। निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन्। धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको स्थानीयको गुनासो रहेको छ। ०७५/७६ मै सक्ने गरी ०७२ सालमै ठेक्का भएको सात किमि सडक ६ वर्षदेखि अलपत्र रहेको छ। सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन। केन्द्रविन्दुबाट दायाँ–बायाँ ११–११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो।
सात किमि दूरीमा पर्ने करिब ९ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँ–बायाँ सात–सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११–११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ताले जानकारी दिएका छन्। सोही सहमतिअनुसार पनि ठाउँ–ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन्। नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात–सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ। ५८ करोड लागतमा निर्माण भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताएका छन्।
सो आयोजनाको संघीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको प्रवक्ताको भनाइ छ। पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयले बताएका छन्। कालोपत्रे गर्न ग्राभेल थुपारेको ६ महिनासम्म पनि सडकमा बिच्छ्याइएको छैन। एक दिन काम भयो भने १० दिन काम रोकिने गरेको छ। सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ। यो समस्याबाट सडक छेउका धेरै स्थानीयवासी पीडित भएका छन्। पछिल्लो समयमा सडक विस्तार आयोजनाका अधिकारीहरूलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीयले जनाए।
ढिलोचाँडो सडक विस्तार हुने भए पनि सात किमिको दूरीमा पर्ने यो खण्डका पाँचवटा ठूला–साना खोलामा पुलको अत्तोपत्तो छैन। यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ। करोडौँ लागतमा सडक विस्तार भए पनि पैदलमार्ग छैन। पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको छ। विशेषगरी किशोर वयस्कले तीव्रगतिमा मोटरसाइकल चलाउँदा दुर्घटना बढ्न थालेको हो। सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।