काठमाडौं। पाल्पामा पर्यटकहरुको बसाइँ लामो बनाउने उद्देश्यले पाल्पाका दुई स्थानमा सांस्कृतिक डबलीको निर्माण गरिएको छ। वषौँदेखिनै पर्यटकीय क्षेत्रको रुपमा ख्याति कमाएको पाल्पामा थप आन्तरिक र बाह्य पर्यटकको आकर्षणलाई वृद्धि गर्नका लागि डबलीको निर्माण गरिएको हो।
तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा लुम्बिनी प्रदेश सरकारले खुला सांस्कृतिक डबली निर्माण गरेको छ। प्रदेश सरकारको उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पामा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने क्रममा जिल्लाका दुई स्थानमा सांस्कृतिक डबली निर्माण गरेको हो।
प्रतिष्ठा कन्ट्रक्सन प्रालिले डिभिजन वन कार्यालय पाल्पामार्फत श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाखमा निर्माण गरेको छ। पाल्पामा हुने सांस्कृतिक एंव धार्मिक पर्व जात्रा र मौलिक नृत्यहरु आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउन डबली निर्माण गरिएको प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले बताउनुभयो।
प्रतिष्ठा कन्ट्रक्सन प्रालिका कम्पनी प्रतिनिधि दीपकबहादुर पालका अनुसार तिनाउ गाउँपालिकाको खुल्ला सांस्कृतिक डवलीमा स्टेज, स्टेज अगाडि हरियो दुवोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रुम, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको सांस्कृतिक डवली निर्माण गरिएको हो।
तराई क्षेत्रबाट जाडोमा घाम ताप्न र गर्मीमा चिसो मौसममा रमाउन, विभिन्न सांस्कृतिक कार्यक्रमको समग्र दोभान नुवाकोट क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ। अंग्रेज युद्धमा नेपालले निर्माण गरेका युद्धका गढीहरू, भैरव मन्दिरसँगै ऐतिहासिक सम्पदाहरू विकास तथा प्रचारप्रसार भई पर्यटन विकासमा थप टेवा पुग्ने तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताउनुभयो।