काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक तत्काल मर्मत गर्न निर्देशन दिएका छन्।
सडकसँग सम्बन्धित निकायको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका भित्रका सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिएका हुन्।
उनले विशेष योजना बनाएर सडकको स्तरउन्नती गर्न निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले भने, “विशेषतः लैनचौरदेखि बालाजुसम्म र केशर महल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतिका लागि तत्काल ठोस योजना बनाउनुपर्यो।”
उनले काठमाडौं उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाउँमा प्रभावकारी योजना बनाउन निर्देशन दिए
उनले भने, “जनताले कर तिरेका छन्। तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन। सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ।” सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उनको जोड छ।
नयाँ सडकमा अनिवार्य रूपमा नयाँ ढङ्गले जाने गरी समझदारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भने, “नयाँ बनेका सडकमा अनिवार्य रूपमा एकैपटक एउटा मोडिलाटी विकास गरेर काम गर्नपर्छ, सम्बन्धित निकायबीच सम्झादारी गर्नुहोस्।”
बैठकबाट लैनचौर–महाराजगञ्ज तथा लैनचौर–सोह्रखुट्टे –बालाजु चोक सडक आवधिक मर्मत गर्न कठिनाइबारे विश्व बैङ्क, मन्त्रालय र विभागसँग छलफल गर्ने निर्णय गरिएको छ।