काठमाडौं। गत वर्षको मंसिर १५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक ३ सय ९६ स्थानीय तहमा निर्माण हुने अस्पतालको शिलान्यास गरेपछि बेंसीसहरबाहेक लमजुङका ७ स्थानीय तहमा पनि अस्पतालका लागि शिलान्यास भएको थियो।
टेन्डर आह्वान, सञ्चालन तथा काम भएमा बजेटसमेत खर्च हुनेगरी स्थानीय तहमा २ करोड रुपैयाँसम्म बजेट पठायो। केही स्थानीय तहमा केही बजेट खर्च पनि भएपनि धेरै रकम भने खर्च हुन नसकी फिर्ता भयो। तर, चालु आर्थिक वर्षको पहिलो चौमासिक बित्नै लाग्दासमेत सरकारले बजेट पठाएको छैन। बजेट नपठाउँदा अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन। स्थानीय तहले रकम दिन नसक्दा निर्माण कम्पनीले अस्पतालको काम नै रोकेका छन्।
बेंसीसहरमा जिल्ला अस्पताल भएपछि अस्पतालको माग गरिएन। बाँकी ३ नगरपालिका र ४ गाउँपालिकामा १० देखि १५ बेडका अस्पताल निर्माण सुरु गरिएको छ। मर्स्याङ्दी गाउँपालिकाले ङादीमा ७ करोड ५० लाख लगानीमा १० बेडको अस्पताल निर्माण गरिरहेको छ। क्व्होलासोंथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङका अनुसार वडा ९ को साल्मेभञ्ज्याङमा १५ बेडको अस्पताल निर्माण थालिएको छ। १३ करोड ४० लाख रुपैयाँमा निर्माण थालिएको अस्पतालको टेन्डर असार अन्तिममा भएको हो।
राइनास–४ चक्रतीर्थमा निर्माण थालिएको १५ बेडको अस्पतालका लागि निर्माण कम्पनीले बजेट माग गरेको छ। प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीका अनुसार ११ करोड रुपैयाँ लगानीमा बन्ने अस्पतालको लागि चालु आवमा बजेट प्राप्त भएको छैन। मध्यनेपाल नगरपालिका–३, सूर्यपालमा निर्माण हुने १५ बेडका अस्पतालको लागि पनि बजेट प्राप्त भइनसकेको प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले बताए ।
सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरमा अस्पताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँमा डाक्टरसहित सेवाको प्राथामिक स्वास्थ्य केन्द्र छ। अस्पतालको टेन्डर गत आवमै भएको थियो। तर, अहिलेसम्म काम अघि बढेको छैन। प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार १० करोड ५७ लाख रुपैयाँमा निर्माण हुने अस्पतालका लागि चालु आवमा बजेट आएको छैन। दूधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीका अनुसार वडा २ को बिचौरमा १५ बेडको अस्पताल निर्माण हुदैछ । बजेट आएको त छैन तर जति काम गर्दै गयो, त्यही अनुरुप बजेट माग गर्ने हो। माग गर्नेबित्तिकै बजेट आउलाभन्ने आश रहेका उनले बताए।
दोर्दी गाउापालिका अध्यक्ष ओमबहादुर गुरुङले अस्पताल बनाउन वडा ८ को हिलेबजारमा जग्गा छनोट गरिएकोमा गत असारको बाढीले बगाएपछि अहिले जग्गा प्राप्तीको क्रममा रहेको बताए। स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले पालिकामा निर्माण हुने अस्पतालको लागि सम्बन्धित मन्त्रालयले सिधै पालिकाको खातामा बजेट पठाउँछ।