ताप्लेजुङ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि यो सिजन पाँच दर्जन बढी विदेशीको उपस्थिति हुने भएको छ । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता बेसक्याम्प पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् ।
अन्नपूर्ण र सगरमाथापछि मात्रै चहलपहल बढ्ने कञ्चनजंघा क्षेत्रको घुन्सा बेसक्याम्पमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेको स्थानीय बताउँछन् ।
पर्यटन मन्त्रालयले कञ्चनजंघा हिमाल आरोहीको संख्या यकिन गरिसकेको छैन । तर, यो सिजनमा ५० देखि ६० जनासम्म त विदेशी आरोही मात्रै हुने इलाइट एक्सपिडिसन ग्रुपका मिङमा डेभिड शेर्पा बताउँछन् । कञ्चनजंघा हिमालमा व्यवसायी स्वयंले बाटो बनाउनुपर्ने भएकाले कतिको संख्यामा आरोही हुन्छन् भन्ने प्रारम्भिक तथ्यांक निकालिएको उनले बताए । उनको कम्पनीबाट पनि यो वर्ष दर्जन बढी विदेशी आरोही छन् । पैदलमार्ग खराब भएकाले उनीहरूका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि उनले बताए । आरोही, सहयोगी, खाना पकाउने, बाटो बनाउने शेर्पासमेत गरी अर्को सातादेखि तीन सयको हाराहारीमा बेसक्याम्पमा उपस्थिति हुने अनुमान मिङमा डेभिडको छ ।
कोरोना संक्रमणका कारण २०७५ देखि ०७७ सालमा हुन नसकेको कञ्चनजंघामा गतवर्ष आरोहण भएको थियो । यो वर्ष पनि गत वर्षकै जस्तै विदेशी आरोही रहेको व्यवसायी बताउँछन् । कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मन, इरान, जापानलगायतबाट ट्रेकिङ गर्नेहरूचाहिँ घुन्सा पुगेका छन् । साउथ र नर्थ दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि नर्थबाट आरोहण गर्ने कोही पनि नभएको टाँसीले बताए ।
‘अब केही दिन पछि गाउँनै पर्यटकले भरिनेछ,’ टाँसिले थपे, ‘होटलवालालाई सोध्दा राम्रै संख्यामा बुक गरेको जानकारी दिनुभएको छ ।’ सामान्य अवस्थामा १ हजार ४ सय सम्मले भ्रमण गरेको तथ्यांक रहेको कञ्चनजंघा संरक्षण क्षेत्रको दुवै बेसक्याम्पमा पुगिसकेका होटल व्यवसायी टाँसीले बताए । कञ्चनजंघामा जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्यांक छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि आउने गरेका छन् । सहज अवस्थामा पुस, माघ, असार र साउनमा बाहेक विदेशी पर्यटक आउने गरेको टाँसी बताउँछन् ।
ठूलो संख्यामा भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरमा आउँछन् । आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने मिङमाडेभिड बताउँछन् । १९५५ मे २५ का दिन पहिलो पटक कञ्चनजंघाको आरोहण भएको थियो ।
सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजंघा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएको छ । अहिले १६ दिनमा दुवै बेसक्याम्प पुगेर फर्कन सकिने पर्यटन व्यवसायी बताउँछन् । यात्रा गर्न सक्नेले ११ दिनमै पनि टुंग्याउँछन् । पूर्वमा सिरिजंघा गाउँपालिकाको याम्फुदिन र उत्तरमा फक्ताङलुङ गाउँपालिकाको लेलेपसम्म यातायातका साधन चल्छ । त्यहाँदेखि भने पैदल यात्रा गर्नुपर्छ । हिमाली क्षेत्रमा लेक लाग्ने भएकोले आराम गर्दै हिँड्न पर्यटक गाइडको सुझाव छ । कान्तिपुरबाट