राजविराज। ४ पटक त शिलान्यास नै गरिएको र तीन पटकसम्म म्याद थप्दा पनि राजविराज बसपार्कको निर्माण सम्पन्न हुन सकेको छैन । आयआर्जनसम्बन्धी पुर्वाधार योजना कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयको बजेटमा बसपार्क निर्माण सुरु भएको र तीन पटक म्याद थपिए पनि बसपार्कको निर्माण सकिएको छैन ।
बसपार्कको अभावमा राजविराजमा सार्वजनिक सवारीसाधन सडकमै पार्किङ हुँदा ट्राफिक झमेला बढेको छ । राजविराज नगरपालिका–२ राजदेवी मन्दिरनजिक रहेको जग्गामा बसपार्क निर्माण भइरहेको हो । हदबन्दीमा परेको जमिनदारको जग्गा सरकारी नाममा आएपछि २०४४ सालमा उक्त जग्गामा वीरेन्द्र हरित उद्यान निर्माणका लागि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेका थिए ।
हरित उद्यान निर्माण हुन नसकेपछि प्रजातन्त्र पुनःस्थापनापछि २०५२ सालमा तत्कालीन नगर प्रमुख शैलेश चौधरीको सक्रियतामा उक्त स्थानमा बसपार्क निर्माण गर्ने निर्णय गरियो । निर्णय त्यतिबेला गरिएपनि बसपार्कको निर्माण भने थालिएन । १९९७ सालमा राजविराज नगर बसाउने क्रममा पनि बसपार्क बनाइएन । बसपार्क नहुँदा राजविराजमा विभिन्न स्थानमा सडक नै अवरोध गरी बस सञ्चालन हुँदै आएका छन् । रूपनी मोड, गजेन्द्र चोक, सखडा रोडलगायतका स्थानमा सडकबाटै बस चल्छ र रोकिन्छ । बसपार्कको अभावमा सडकमै बस पार्किङ गर्दा नगरको सौन्दर्यमा नकारात्मक प्रभाव पर्नुका साथै सडक जाम बढेको छ ।
बसपार्क निर्माण गर्ने उद्देश्यले चौथो पटक २०७४ साल पुस १९ मा सम्झौता भई तत्कालीन नगर प्रमुख शम्भुप्रसाद यादव र सहरी विकास मन्त्रालयका तत्कालीन सचिव दीपेन्द्रनाथ शर्माले २०७४ माघ २६ मा शिलन्यास गरेपछि मन्त्रालयकै बजेटमा बसपार्क निर्माण थालिएको थियो । २०७७ साल पुस १८ भित्र बसपार्क निर्माण सक्ने सम्झौता गरेर सिनर्जी बिल्डर्स, काठमाडौंले निर्माण काम अगाडि बढाएको थियो । तर, तोकिएको समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेन ।
करिब १६ करोड ३९ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने राजविराज बसपार्कमा सेड निर्माण, घण्टाघर, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन र चारैतिर पर्खाल निर्माणको लगत स्टिमेट छ । तोकिएको समयमा बसपार्क निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजले ३ पटकसम्म म्याद थप गरिसकेको छ । डिभिजन प्रमुख सचिन्द्रकुमार देवकाअनुसार निर्माण कम्पनीलाई जरिवानासहित तेस्रो पटक थपिएको म्याद २०८० साल असार २५ मा सकिँदै छ । निर्माण कम्पनीका प्रतिनिधि तोकिएको समयमा काम सम्पन्न हुनेमा ढुक्क छैनन् । ‘अब तोकिएको समयमा काम सम्पन्न नभए निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याइनेछ,’ डिभिजन प्रमुख देवले भने ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र प्रहरी प्रमुख नरेन्द्र कार्कीको सक्रियतामा राजविराजमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई अगाडि बढाउँदै बसपार्कबाटै बस सञ्चालन गर्ने तयारी गरिएको छ । तर, बसपार्क निर्माण सम्पन्न नहुँदा प्रशासनको प्रयास सफल भइरहेको छैन । जिल्ला प्रशासन कार्यालयमै निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर प्रमुख जिल्ला अधिकारी थापाले वैशाख १ गतेबाट बसपार्क सञ्चालनमा आउने गरी न्यूनतम पूर्वाधार तयार गर्न निर्देशसन दिएका छन् ।
‘२०८० साल असार २५ गतेसम्म बसपार्क पूर्णरूपमा निर्माण भइसक्नुपर्ने तेस्रो पटक थपिएको अन्तिम म्याद हो । बजार अव्यवस्थित भइरहेका कारण वैशाख १ गतेबाट नै बसपार्कबाट बस चलाउने हाम्रो योजना हो,’ प्रमुख जिल्ला अधिकारी थापाले भने,‘शौचालय, पानी, बिजुलीलगायतका न्यूनतम पूर्वाधार वैशाख १ अघि नै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेका छौं ।’ उनकाअनुसार अटेर गरे निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याइनेछ । प्रजिअ थापाले तोकिएको समयमा काम नगर्ने, पटकपटक म्याद थप गराउँदै काम अल्झाइरहने प्रवृत्ति देखिएको बताए । कान्तिपुरबाट