काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले हेडवर्क्स र सुरुङ मर्मतको काम चिनियाँ कम्पनीलाई दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ। सुरुङ र हेडवर्क्सबाहेकका कामका लागि भने टेन्डरमार्फत प्रतिस्पर्धा गराइनेछ। मेलम्ची खानेपानी विकास समितिको शुक्रबार बसेको बैठकले द्रुत गतिमा काम पूरा गर्ने सर्तमा सुरुङ र हेडवर्क्सको काम चीनको सिनो हाइड्रो कम्पनीलाई दिन उपयुक्त हुने प्रस्ताव पारित गरेको हो।
समितिकी अध्यक्ष एवं खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य वज्राचार्यको संयोजनमा बसेको बैठकको सिफारिसअनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ। सो प्रस्ताव छोटो समयमा काम पूरा गरेर पानी सञ्चालन गर्ने गरी सरकारबाट निर्णय गराउने समितिले जनाएको छ। आयोजनाको हेडवर्क्स र सुरुङ सफा गरेर काठमाडौंमा पानी ल्याउन बढीमा तीन महिना लाग्ने अनुमान प्राविधिकहरूको छ।
२०७५ पुसमा इटालियन कम्पनी सीएमसी सम्झौता तोडेर आफ्नै देश फर्किएको थियो। त्यसपछि सरकारले २०७६ असोजबाट चीनको सिनो हाइड्रो कम्पनीलाई आयोजनाको हेडवर्क्स र सुरुङ निर्माणको जिम्मेवारी दिएको थियो। अहिलेको काम पनि सोही कम्पनीलाई दिने प्रस्ताव मन्त्रालय पठाउने जानकारी सदस्यसचिव पौड्यालले दिए। प्रस्तावका विषयमा सिधै वार्ता गरेर चिनियाँ कम्पनी सिनोलाई कामको जिम्मेवारी दिने निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग छ।
सुरुङ र हेडवर्क्सको काम १५ महिनामा पूरा गर्ने गरी चिनियाँ कम्पनी सिनोले नै २०७६ असोजमा सरकारसँग सम्झौता गरेको थियो। त्यतिबेला मुख्य कामबाहेकका संरचना निर्माण अन्य कम्पनीलाई दिइएको थियो। सिनो कम्पनीले काम गरिरहेको अवस्थामा गत असारमा आएको बाढीले आयोजनामा क्षति पुर्याएको हो। हेडवर्क्सको संरचना माटो र ढुंगाले पुरिएको छ भने सुरुङमा लेदो पसेर क्षति गरेको छ। पुरिएको हेडवर्क्स सफा गरेर अस्थायी रूपमा भए पनि पानी छिटो काठमाडौं ल्याउन द्रुत गतिमा काम गर्नुपर्ने भन्दै खानेपानीमन्त्री उमाकान्त चौधरीले प्राविधिकहरूलाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन्।
आयोजनाको भौतिक संरचना निर्माण सुरु भएको २२ वर्षपछि गत फागुनमा काठमाडौंमा पानीको परीक्षण वितरण गरिएको थियो। पहिलो पटक पानी परीक्षण सुरुङको गेट नै फुटेको थियो। दोस्रो पटक पानी प्रवेश गराएर वितरणसमेत गरिसकेको अवस्थामा बाढी आएको थियो। बाढीका कारण असारदेखि पानी वितरण रोकिनुका साथै आयोजनाको भविष्यमाथि नै प्रश्न उठिरहेको छ।
खानेपानी मन्त्रालयका अनुसार स्थानीय तह, सेना र ठेकेदार कम्पनीले क्षेत्रगत रूपमा काम विभाजन गरेर पुनर्निर्माण गर्ने तयारी गरिएको छ। सडक निर्माणको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिने तयारी गरिएको छ । आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी लैजाने योजना छ, भने दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट १७।१७ करोड गरी ५१ करोड लिटर पानी दैनिक राजधानी लैजाने योजना रहेको छ। दोस्रो चरणको आयोजानको पनि निर्माण सुरु भइसकेको छ ।