काठमाडौं। धेरै ठाउँमा जग्गा प्राप्ति नभएका कारण चाहेर पनि खेल मैदान तथा कभर्डहल निर्माण हुन सकेका छैनन् । नेपालको खेलकुद क्षेत्रलाई पछिल्लो समयमा बुझ्न थालिए पनि अझै यसलाई व्यावहारिक रूपमा खेलकुदको विकास र विस्तारका लागि खेल पूर्वाधार निर्माण गर्नु पहिलो आधारभूत कुरा हो भन्ने मान्यता बुझाउन सकिएको छैन ।
जुन पछिल्लो एक उदाहरणको रूपमा हेर्न सकिन्छ, पोखरा रंगशालामा जग्गा प्राप्तिसँगै शिलान्यास भएको ६ महिना पुग्न पनि तेक्वान्दो कभर्ड हल निर्माणकार्य अझै अघि बढ्न सकेको छैन । तेक्वान्दो खेलको कभर्ड हल निर्माण गर्न जग्गा उपलब्ध नहुँदै करिब ६ वर्षअघि तत्कालीन जगनबहादुर गुरुङको नेतृत्वमा ४० लाख रुपैयाँ आर्थिक संकलन गरे पनि हालसम्म कभर्ड हुन निर्माण प्रकृया अघि बढ्न सकेको छैन ।
जग्गा प्राप्ति भए पनि शिलान्यास भएको उक्त कभर्ड हलको निर्माण प्रकृया अझै अघि बढ्न नसकेको कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उक्त कभर्ड हलको गत असोज ८ गते एक समारोहका बीच शिलान्यास गरे पनि हालसम्म निर्माण प्रकृया अघि बढ्न नसकेको अध्यक्ष गुरुङले बताए ।
राखेपले उक्त कभर्ड हलको बिस्तृत रिपोर्ट पटकपटक माग गर्दै जाँदा हालसम्म उक्त प्रकृया लामो हुँदै निर्माण कार्य अघि बढ्न नसकेको बताएका अध्यक्ष गुरुङले तेस्रो पटकसम्म डीपीआर बनाउँदै बुझाएको बताए । अब भने उक्त कभर्ड निर्माण प्रकृया अघि बढेकाले राखेपले अनुमति नदिए पनि आफ्नो ढंगले भए पनि अघि बढाउने योजनामा आफूहरू रहेको उनले जनाए ।
हाल नगद तथा बैंक मौज्दात ५५ लाख ५५ हजार ९३८ रुपैयाँ रहेको संघको मंगलबार पोखरामा आयोजित १३औं वार्षिक साधारण सभामा सार्वजनिक गरिएको थियो । संघले उक्त कभर्ड हल निर्माणका लागि पैसा बैंकमा राख्दा खेलाडी तथा प्रशिक्षकले भने अर्को खेल संघमा गएर खेल प्रशिक्षणदेखि प्रतियोगिता गर्नुपर्ने बाध्ययता रहेको स्वयम अध्यक्ष गुरुङले गुनासो गरे ।
हालै हङकङमा सम्पन्न भएको २७औं एसियन सिटि तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक ल्याएकी रेकमाया गुरुङले आफ्नो छुट्टै कभर्ड हल नहुँदा चाहेर पनि तेक्वान्दो खेललाई अघि बढाउन नसकेको गुनासो गरिन् । पोखरामा करिब ३० भन्दा बढी डोजाङ भए पनि सक्रिय करिब १२ वटा रहेका छन् भने उनीहरूको प्रतिभा प्रष्फुटन गर्ने एकै थलो पोखरा रंगशालामा हुनसके त्यसबाट नेपाललाई पदक ल्याउने खेलाडी समेत उत्पादन हुने उनको दाबी छ ।
संस्थापक अध्यक्ष जगनबहादुर गुरुङको नेतृत्वमा संघले स्वदेशी तथा विदेशी दाता, देउसी भैलोलगायतका कार्यक्रमबाट ४० लाख रुपैयाँ आर्थिक संकलन गर्न सफल भएको थियो । विगत १४ वर्षदेखि संघलाई कम्तीमा डेढ रोपनी जग्गा उपलब्ध गराउन माग गर्दै आएको संस्थापक अध्यक्ष गुरुङले जनाए । कारोबार दैनिकबाट