काठमाडौंं। भौगोलिक रूपमा विकट दुर्गम बस्तीलाई यातायातको पहुँचमा पुर्याउन स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर ठूलो लगानी गर्दै आएका छन् । जुम्लामा रहेका झण्डै २१८ गाउँबस्तीमध्ये अधिकांश गाउँ भौगोलिक रूपले निकै विकट छन् । गाउँमा उत्पादित वस्तुको बजारीकरण तथा अझै विद्यमान पिठ्युमै भारी बोक्नु बाध्यताको अन्त्य गर्न सडक विस्तार नै मुख्य आधार हो ।
सडकलाई विकासको मेरुदण्डसमेत मानिन्छ भने नागरिकले प्रत्यक्ष अनुभूति गराउने विकास नै सडक निर्माण हो । जसका कारण जुम्लाका आठवटै स्थानीय तहले विकट गाउँबस्तीमा यातायातको पहुँच पुर्याउन सडक निर्माणलाई जोड दिँदै आएका छन् । जुम्लाका ६० वटै वडामा ग्रामीण सडक निर्माण भइसकेका छन् । यद्यपि, सडक निर्माण भएका अधिकांश वडामा अझै यातायातको पहुँच पुग्न बाँकी छ ।
जसअन्तर्गत जुम्लाको तातोपानी गाउँपालिकाले बितेको पाँच वर्ष (२०७४/०७८) असारसम्म झण्डै ७४ किलोमिटर सडक निर्माण गरेको छ । पालिकाका आठवटै वडामा सडक सञ्जाल पुर्याई यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले ठूलो लगानीमा बितेको पाँच वर्षमा ७४ दशमलव ५ किलामिटर सडक निर्माण भएको तातोपानीका इन्जिनियर डिल्लीबहादुर बुढाले बताए । भेरीखोला क्षेत्रको थलाले बाहेक तातोपानीका सबै बस्तीमा ग्रामीण सडकसँंगै यातायात पहुँच पनि पुगिसकेको छ ।
इन्जिनियर बुढाले भने, “बितेको पाँच वर्षमा पालिकाभरि साढे ७४ किमि कृषि ग्रामीण सडक निर्माण भएको देखिन्छ । अझै विभिन्न बस्तीमा सडक पुर्याउने कार्य जारी छ । चालू आवको अन्तिममा सडक निर्माण प्रतिशत बढ्ने छ । विगतमा डोजरले सडक निर्माण गर्ने गरे पनि डोजर प्रयोग गर्न नपाउने नीति पारित गरेपछि पछिल्लो तीन वर्षमा नागरिककै सहभागितामा सडक निर्माण भइरहेको छ ।”
साथै सडक निर्माणका क्रममा निस्किएका ढुंगा गिट्टीलाई पालिकाको आम्दानी स्रोतका रूपमा प्रयोग गर्ने गरी भेरीखोला क्षेत्रमा जम्मा गर्ने गरिएको इन्जिनियर बुढाले जानकारी दिए । उनका अनुसार नीति बनाएर बिक्री गरिने छ ।
कुन वडामा कति सडक
बितेको पाँच वर्षमा साढे ७४ किमि सडक निर्माण गरेको तातोपानी गाउँपालिकाले वडागत रूपमा सबैभन्दा बढी वडा नं. ४ को हाँकु, गौतमबाडा, नियापानी, पत्थेनीलगायतका गाउँमा १९ दशमलव ९५ किलोमिटर र सबैभन्दा कम वडा नंं २ जर्मी बाबिरा, डाँगीबाडा, गोप्थाडामा ३ दशमलव ३७ किलोमिटर मात्रै सडक निर्माण भएको छ ।
त्यस्तै भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तातोपानी–७ का विभिन्न बस्तीमा ७ दशमलव २८ किमि, वडा नंंं ८ मा ९ दशमलव ६७ किमि सडक निर्माण भएको छ भने वडा नं। १ राँका बाइराँकामा ९ दशमलव २१ किमि, वडा नंं।३ लिताकोटमा ६ दशमलव ९१ किमि, वडा नंं।५ मा ९ दशमलव ५७ किमि र वडा नंं। ६ मा ७ दशमलव ७ किमिलगायत अन्य गरी जम्मा ७४ दशमलव ५ किमि सडक निर्माण भएको तातोपानीका प्राविधिक शाखा प्रमुख इन्जिनियर डिल्ली बुढाले जानकारी दिए ।
पालिकाको विटक क्षेत्र भनेको भेरीखोला हो । ८ नम्बर वडाको थलाले गाउँगाउँमा सडक पुर्याउन उपभोक्ताले काम गरिरहेका छन् । चालू आवमै थलालेमा सडक पुग्ने छ । सडक निर्माणको काम नागरिककै सहभागितामा भइरहेको छ । गाउँमा सडकमात्र पुग्ने छैन, उपभोक्ताका खल्तीमा नुन तेल फेर्ने पैसा पनि पर्नेछ । विगतमा निर्माण भएका सडकको कतै फिनिसिङ हुन बाँकी छ भने केही ठाउँमा स्तरवृद्धि गर्ने कार्यक्रम छ ।
गाउँका कृषि उत्पादनलाई बजारसम्म पुर्याउने र स्थानीय नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य रहेको तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । गाउँगाउँमा सडक निर्माण गरिए पनि जुम्लाका अन्य स्थानीय तहमा गाडी पुग्न सकेका छैनन् । तर त्रिवेणीमा पक्की पुल बनेपछि तातोपानीको दुर्गम क्षेत्र भेरीखोलाका सबै बस्ती यातायात पहुँचमा पुगेको अध्यक्ष चौलागाईंको भनाइ छ ।
उनका अनुसार पालिका क्षेत्रभित्रै जर्मी बाबिरालगायका अन्य स्थानमा पनि पक्की पुल निर्माणको पहल भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले गाउँमा सडक पुग्नु सुखद पक्ष भए पनि गाउँमा उत्पादित वस्तुको बजारीकरणमा जोड दिन पालिकाले आवश्यक सहजीकरण गर्नुपर्ने बताए । प्राविधिक जनशसक्तिको सक्रियता, जनप्रतिनिधिको साथ, कर्मचारी बीचको समन्वय तथा सचेत नागरिकको सहयोगले तातोपानी भौतिक विकाससँंगै सेवा प्रवाहमा अब्बल बन्न थालेको उनको भनाइ छ । कारोबार दैनिकबाट