थलारा। पालिकाभित्रका सडक विभिन्न कारणले अवरोध हुन थालेपछि थलारा गाउँपालिकाले सडक सफाइकर्मी राखेको छ । नियमित रुपमा सडक सफाइकर्मीहरू परिचालन गरेपछि यहाँका सडकमा बिनाकुनै अवरोध गाडी सञ्चालन हुन थालेका छन् ।
सफाइकर्मी परिचालन गरेपछि सडकमा जथाभावी बग्ने पानी, सानोतिनो पहिरोका कारण हुने अवरोध र खाल्डाखुल्डीका कारण यातायात सञ्चालन गर्न कठिनाइ हुने समस्या हटेको छ । नियमित सरसफाइपछि नियमित रुपमा जिप चल्न पनि समस्या हुने सडकहरूमा तीनपांग्रे अटो पनि सञ्चालन हुन थालेका छन् भने आवागमनमा सहजता भएको स्थानीयले बताएका छन् ।
‘पहिला कतिबेला जिप आउला भनेर कुरेर बस्नुपर्थ्यो । अहिले भनेको बेला अटो चढेर जान पाइएको छ,’ थलारा गाउँपालिका ५ दुवालीका पदम राज जोशीले भने, ‘सडक सफा गर्ने मान्छे राखेदेखि खाल्डाखुल्डी छैनन् । नियमित गाडी चल्न थालेका छन् ।’ उनले सडक सफाईकर्मीले नियमित रुपमा खाल्डाखुल्डी पुर्ने, सडकमा छरिएका ढुङ्गाहरू हटाउने र सडकमा जथाभावी बग्ने पानीलाई व्यवस्थित गर्ने काम नियमित रुपमा हुन थालेपछि स्थानीयलाई सुविधा भएको बताए ।
थलारा गाउँपालिको वडा नं। १ देखि ९ सम्म १ सय ३६ किलोमिटर कच्चि सडक बनेको छ । पहिला सडकमा ठूलठूला खाल्डाखुल्डी हुने, जथाभावी बग्ने पानीका कारण हिलो हुने, सानातिना पहिरो र सडकमा छरिएका ढुंगामुढाका कारण सबै वडामा नियमित गाडी चल्न सकेका थिएनन् । सडकको अवस्था ठिक नभएका कारण सबैतिर गाडी नचल्ने र दुर्घटना हुने गरेको बताउँदै एक जिप चालक मदन राज पाण्डे भने, ‘पहिला फोर ह्विलर गाडी चलाउन पनि जोखिम थियो । अहिले सबै खालका गाडी सबैतिर चल्ने भएका भएका छन् । दुर्घटनाको जोखिम पनि कम भएको छ ।’ सडकको अवस्था ठिक नभएको कारण दुई–तीन वर्षको अवधिमा सात–आठ वटा दुर्घटना भएको र दुई जनाले ज्यान गुमाउनुपरेको उनले बताए ।
पालिकाले सडक सफाइ गर्नका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअर्न्तगत २७ जना बेरोजगारलाई नियुक्ति गरेको हो । एक वडाबाट तीन जनाका दरले नियुक्त भएका सरसफाइकर्मीहरूले वार्षिक एक सय दिन बराबरको रोजगारी पाउने र दैनिक ६ सय ८० का दरले ज्याला पाउनेछन् । यसअघि गाउँमा रोजगारी नपाएर भारतको मजदुरी गर्दै आएका अधिकांशले गाउँमै काम पाएकोमा खुसी व्यक्त गरे । ‘घर खर्च चलाउनका लागि हामीले प्रत्येक वर्ष ६ महिना जति इन्डिया गएर भारी बोक्नुपर्थ्यो । अहिले गाउँमै रोजगारी पाएका छौं,’ वडा नं २, कफलकाँडाका हर्क खातीले भने, ‘बिहान साँझ घरको काम गर्छौं, दिउँसो सडकको काम गर्छौं । आफ्नै घरमा बसेर नुनतेल चलाउन पाउँदा खुसी लागेको छ ।’
उनले आफूहरूका कारण नियमित सवारी सञ्चालन हुनमा सहजता भएको र गाउँको विकासमा सहभागी हुन पाउँदा आनन्द अनुभव गरेको बताए । पालिकाले सडक सरसफाइकर्मीहरूलाई काम गर्नका लागि साबेल, बेल्चा गैति र हाते गाडाका साथै सुरक्षाका लागि हेल्मेट, बुट, जकेट र पन्जा पनि दिएको र त्यसले काम गर्न सजिलो भएको सरसफाइकर्मीहरूको भनाइ छ ।
सडक सफाइकर्मी परिचालन गरेपछि गाउँपालिकाको खर्च समेत घटेको पालिका उपाध्यक्ष रामबहादुर खातीले बताए । ‘पहिला हामीले साता–दस दिनमा डोजर लगाएर बाटो सफा गर्नुपर्थ्यो । डोजर नभएको बेला सडक नै अवरुद्ध हुन्थ्यो,’ उनले भने, ‘डोजर भाडामा लिएर सफा गर्दा घण्टाकै आठ दस हजार खर्च हुन्थ्यो । अहिले पालिकाको रकम पनि बचेको छ । जनताले रोजगारी पनि पाएका छन् । सडक पनि सफा छन् ।’ उनले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
नियमित सडक सञ्चालन हुन थाले पनि स्थानीयलाई आवतजावतमा मात्रै सहज नभई स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन पनि सजिलो भएको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए । ‘सडक नचलेका कारण गाउँमै कुहिने तरकारी र फलफूल पनि बजार सम्म पुर्याउन सहज भएको छ,’ उनले भने, ‘नियमित सडक सञ्चालन भएका कारण किसानको मेहनतले उचित मूल्य पाउन थालेको छ ।’ थलारा गाउँपालिकाबाट आलु, स्याउ, दाँतेओखर, घिउ, मह, हंसराज बास्मती धान, चामललगायत ठूलो मात्रामा मौसमी तथा बेमौसमी तरकारी जिल्लाभित्र तथा बाहिरका बजारमा बिक्री हुने गरेको छ । कान्तिपुरबाट