काठमाडौं। कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारणलाइन विस्तारको कामले गति लिएको छ । आर्थिक वर्ष २०७७/०७८ असारदेखि सुरु भएको आयोजनाले ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरिसकेको छ । हालसम्म आयोजनाले ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजना सुरु भएको लामो समयसम्म पनि बर्दिया राष्ट्रिय निकुञ्जले रुख कटानको अनुमति नदिँदा विस्तारको काममा समस्या उत्पन्न भएको थियो । यस्तै, पहिलो चरणमा टावर निर्माणको काम गरिने छ, भने दोस्रो चरणमा तार तान्ने, सबस्टेसन निर्माणलगायतका काम गरिने आयोजनाले जनाएको छ । सुर्खेतसहित कर्णालीका १० वटै जिल्लाको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारणलाइन विस्तारको काम निरन्तर रूपमा अघि बढेको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए ।
उनले रफ्तारमा कुनै अवरोध बिना काम अगाडि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने बताए । प्रमुख चौधरीका अनुसार प्रसारणलाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म १६२ वटा टावर निर्माण भइरहेका छन् । जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ । यस्तै, प्राधिकरणका प्रमुख चौधरीले प्रसारणलाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख काट्नुपर्ने बताए ।
यीमध्येका केही रुख काटिसकिएका छन् । आयोजना निर्माण क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेंसी नगरपालिकासहित बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिका पर्दछन् । प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन तथा ११।०६५ अन्य भागले ओगटेको छ । विद्युत प्रसारणलाइन कार्यान्वयनका लागि निजी, सामुदायिक तथा सरकारी वन क्षेत्र गरी कुल जग्गाको क्षेत्रफल २२५ वर्गमिटर हुनेछ ।
त्यस्तै ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सबस्टेसन निर्माण तथा क्षेत्राधिकारका लागि आवश्यक पर्ने आयोजनाले जनाएको छ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सबस्टेसन निर्माणका लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण हुनेछ, भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।
प्रसारणलाइन बाँकेको कोहलपुर सबस्टेसनबाट सुरू भई सुर्खेतको सुब्बाकुना सबस्टेसनमा पुगेर टुंगिनेछ । यही विद्युत जाजरकोट हुँदै डोल्पा र सुर्खेत–दैलेख हुँदै कालिकोट र जुम्ला पुर्याइएको छ । अन्य ठाउँमा समेत विद्युतको प्रसारण लाइन तीव्र पारिएको छ । अहिले कर्णालीले नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई पाएको छ । सुर्खेतसम्म १३२ केभीको लाइन निर्माण कार्य पूरा भएमा मात्र अन्य जिल्लामा उक्त प्रसारण लाइनको निर्माण कार्य सुरु गरिने छ ।
जगदुल्लाको विद्युत खरिद गर्न प्राद्यिकरणसँग सहमति
डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजनाको १०६ मेगावाट विद्युत नेपाल विद्युत प्राद्यिकरणले विद्युत खरिद बिक्री गर्ने सहमति भएको छ । चैत १९ गते भएको उक्त सम्झौताअनुसार विद्युत खरिद बिक्री गर्न सहमत भएको सहमति पत्रमा उल्लेख गरिएको छ । अहिले आयोजनास्थलमा सडक, पुल तथा भवन निर्माणका काम भइरहेका छन् । उक्त निर्माण गर्नका लागि चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को अगुवाइमा चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भएको आयोजनाका प्रोजेक्ट सञ्जय सापकोटाले बताए । जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी व्यवस्थापनका लागि एक महिनाभित्र सम्झौता हुने सापकोटाले बताए । सापकोटाले निफ्राको अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी ९एचआइडिसिएल०, कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी गर्ने सहमति गरिसकेको बताएका छन् ।
“बैक तथा वित्तीय संस्थाले कुल लगानीको ७० प्रतिशत अर्थात् १६ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको छ,” उनले भने, “बाँकी सात अर्ब २५ करोड रुपैयाँ स्वपुँजी जुटाइनेछ ।” आयोजना सम्पन्न गर्न २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ । आयोजनाको निर्माण आगामी आर्थिक वर्ष (२०८०।०८१) देखि निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक खोल्ने कार्य भइरहेको छ । पहुँचमार्ग पूरा भएलगतै आयोजनाको सिभिल संरचनाको काम सुरु हुनेछ । आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक जग्गामध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गाधनीलाई मुआब्जा वितरण भइसकेको सापकोटाले बताए ।
दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा छ । वातावरणीय अध्ययन कार्यअन्तर्गत टीओआर तथा स्कोपिङ मस्यौदा स्वीकृत भई सार्वजनिक सुनुवाइ गरी अन्तिम प्रतिवेदन विद्युत विकास विभागमा पेस गरिएको छ । प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९३।२४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यही कम्पनीले ८२।३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पनि अघि बढाएको छ । जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्न त्रिवेणीस्थित भेरी नदीको पुल बाधक देखिएको छ । दुई वर्ष अगाडि क्याराभान कन्स्ट्रक्सनले लिएको ठेक्का आयोजना निर्माण हुने समयमा कामै नगरी अर्कालाई बिक्री गरेपछि आयोजनासम्म जान र आउन समस्या हुने भएको छ । दुई वर्षपछि अहिले त्रिवेणीमा सामान्य कामबाहेक केही पनि भएको छैन । कारोबार दैनिकबाट